
काठमाडौं ।
बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ।
यातायात व्यवस्था विभागले गत शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेज जाडन नगरिए साउन १ गतेदेखि ट्राफिक प्रहरीले कारबाही गर्ने चेतावनी दिएको छ।
सरकारले २०७८ कार्तिक २२ गते राजपत्रमा सूचना प्रकाशित गरी मंसिर १ गतेदेखि नयाँ सवारीसाधनमा इन्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो।
आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म १७ हजार ४१८ ओटा सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ।
२०७३ जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच ५ वर्ष भित्र २५ लाख इम्बोस्ड नम्बर बनाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।
तर इम्बोस्ड नम्बरमा भाषाको सम्बन्धमा मुद्दा परेपछि जडान कार्य अवरुद्ध भएको छ। अदालतले जाडन कार्य गर्न स्वीकृती प्रदान गरेपछि गत मंसिरदेखि पुन: इम्बोस्ड नम्बर जडान कार्य शुरु भएको थियो।
कसरी लिने इम्बोस्ड नम्बर?
इम्बोस्ड नम्बर प्राप्त गर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गएर अनलाइन फारम भर्नु पर्ने हुन्छ।
वेबसाइट खुलेपछि स्क्रिनको दायाँतिर भएको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ मा क्लिक गर्नुपर्छ।
स्क्रिनमा देखा पर्ने विभिन्न विकल्पमध्ये अन्तिममा रहेको ‘अनलाइन आवेदन गर्नुहोस्’ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ।
स्क्रिनको दायाँतिर भएको ‘गेट स्टार्टेड’ भन्ने विकल्पमा क्लिक गर्नुपर्छ।
त्यसपछि सिस्टमले माग गरेको विवरणहरू भर्नुपर्छ । यसमा पुराना अर्थात् अञ्चलबाट जारी भएको नम्बर प्लेटको हकमा भने कार्यलय कोड राख्नुपर्ने ठाउँलाई छोडेर अन्य; जारी गरिएको प्रदेश वा अञ्चल, सवारीको लट कोड, वर्गीकरण र नम्बर राख्नुपर्छ । यसपछि तपाईंको मोबाइल नम्बर र ईमेलमार्फत भेरिफिकेसन कोड प्राप्त हुन्छ।
यसपछि सवारीको विवरण र व्यक्तिगत विवरण भर्नुपर्छ।
त्यसपछि तपाईहरु आवेदनको अर्को चरणमा पुग्नुहुन्छ। जहाँ तपाईंले आफ्नो ब्लुबुक, नागरिकता वा पासपोर्ट, रकम भुक्तानी गरेको भौचर, सवारी कर भुक्तानीको भौचर लगायतका कागजातहरूको तस्वीर पेश गर्नुपर्छ।
यसपछि नेक्स्ट अप्सनमा क्लिक गरेर सम्पूर्ण जानकारी भेरिफाई गरी आवेदन दिन स्क्रिनको दायाँतिर गएर सब्मिटमा क्लिक गर्नुपर्छ।
यी सबै प्रक्रिया पूरा गरेपछि इम्बोस्ड नम्बर प्राप्त हुन्छ। प्राप्त भएको इम्बोस्ड नम्बर लिएर सम्बन्धित यातायात कार्यालयमा गई आफ्नो इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ।
कति लाग्ला जडान शुल्क?
यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे तथा मझौला सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३ हजार ६ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ।
कहाँ गएर जोड्ने?
विभागले २ पांग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, ३ पांग्रे सवारी र साना तथा मझौला ४ पांग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय, टेकू र ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी एकान्तकुना, ललितपुरमा व्यवस्था मिलाएको छ। त्यस्तै सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवन जानुपर्ने छ।
गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी), पोखरा, कास्की जानु पर्नेछ।
प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार