भारतमा पहिलो पटक लिक्विड मिरर टेलिस्कोप राखियो

  • Technology Khabar | २२ जेष्ठ २०७९, आईतवार
भारतमा पहिलो पटक लिक्विड मिरर टेलिस्कोप राखियो

काठमाडौं ।

भारतमा पहिलो पटक लिक्विड मिरर टेलिस्कोप जडान गरिएको छ। यो टेलिस्कोप भारतको नैनीतालस्थित देवस्थल अब्जर्भेटरीको पहाडको टुप्पोमा राखिएको हो। यो टेलिस्कोपमार्फत सूपरनोभा, गुरुत्वाकर्षण लेन्स र क्षुद्रग्रह आदि बारे जानकारी लिन मद्दत गर्ने बताइएको छ।

इन्डियन लिक्विड मिरर टेलिस्कोप (आईएलएमटी) ले आकाशको सर्वेक्षण गर्न मद्दत गर्नेछ। यसले धेरै आकाशगंगा र अन्य खगोलीय स्रोतहरू अवलोकन गर्न पनि सजिलो बनाउनेछ।

के हो लिक्विड मिरर टेलिस्कोप ?

भारतले यसलाई बेल्जियम र क्यानडाका खगोलविदहरुको सहयोगमा बनाएको हो। यो तरल पारो अर्थात मर्करीको पातलो फिल्मबाट बनेको ४ मिटर व्यासको घुमाउरो ऐना जस्तै हो जसले प्रकाशलाई सङ्कलन र केन्द्रित गर्छ।

प्रतिबिम्बित प्रकाश एक परिष्कृत मल्टि-लेन्स अप्टिकल प्युरिफायरमार्फत जान्छ, जसले दृश्यको फराकिलो क्षेत्रमा तीखो तस्बिरहरू उत्पादन गर्दछ। फोकसमा रहेको ठूलो ढाँचाको इलेक्ट्रोनिक क्यामराले तस्बिरहरू रेकर्ड गर्दछ। लिक्विड मिरर प्रविधिका विज्ञ ब्रिटिश कोलम्बिया विश्वविद्यालयका प्रा. पाउल हिक्सनले भने, “पृथ्वीको परिक्रमाले क्यामरामा तस्बिरहरू लिन्छ, तर यो गतिलाई क्यामराले इलेक्ट्रोनिक रूपमा क्षतिपूर्ति दिन्छ। सञ्चालनको यो मोडले हेर्ने दक्षता बढाउँछ र विशेष गरी टेलिस्कोपलाई धमिलो र विस्तृत वस्तुहरूमा संवेदनशील बनाउँछ।”

यसलाई हालै समुन्द्र सतहबाट २४५० मिटरको उचाइमा रहेको देवस्थल अब्जरभेटरीमा स्थापना गरिएको छ। यो वेधशाला आर्यभट्ट रिसर्च इन्स्टिच्युट अफ अब्जर्भेसनल साइन्स (एआरआईएस)मा रहेको छ, जुन भारत सरकारको विज्ञान विभागको स्वायत्त संस्थानमा राखिएको छ।

टेलिस्कोप तयार गर्न, वैज्ञानिकहरूले पारोको पोखरी बनाएको बताईएको छ, जुन एक परावर्तित तरल हो। यसले टेलिस्कोपको सतह घुमाउरो बनाउँछ। यो प्रकाश केन्द्रित गर्नको लागी उपयुक्त हुने बताईएको छ। यसको माथि पातलो पारदर्शी फिल्मले पारोलाई हावाबाट जोगाउँछ। यसमा ठूलो इलेक्ट्रोनिक क्यामरा पनि छ, जसले तस्बिरहरू रेकर्ड गर्दछ।

यस्तो टेलिस्कोप विश्वमा पहिलो पटक प्रयोग

एआरआईएसका निर्देशक प्रोफेसर दिपङ्कर बनर्जीले यो टेलिस्कोपलाई विश्वमै पहिलो पटक खगोलीय अवलोकनका लागि प्रयोग गर्न लागिएको बताए। नयाँ टेलिस्कोपसहित अब भारतको देवस्थल अब्जर्भेटरीमा दुई ओटा चार मिटर वर्गको टेलिस्कोप आईएलएमटी र देवस्थल अप्टिकल टेलिस्कोप (डट) जडान गरिएको छ।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...