दूर्गमलाई सञ्चार सेवामा जोड्न टेलिकमको मोबाइल सेवा

  • Technology Khabar | २१ जेष्ठ २०७९, शनिबार
दूर्गमलाई सञ्चार सेवामा जोड्न टेलिकमको मोबाइल सेवा

काठमाडौं ।

थम्मन थापा

म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानियबासी खुसी भएका छन्। नेपाल टेलिकमले रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाको धुरीमा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानियलाई सहज भएको हो। भौगोलिक रुपमा विकट रहेको उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन।

ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले माईक्रो वेभ रेडियो लिङ्क मार्फत टूजी र थ्रीजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए। समुन्द्र सतहदेखि झण्डै २ हजार ८ सय मिटरको उचाईमा अवस्थित चिमखोलाको धुरीबाट सेवा प्रवाह गरिएको कार्यालय प्रमुख शर्माले बताए। भौगोलिक विकटता र चुनौतिका बाबजुद ग्रामीण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन मोवाईल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाईएको उनको भनाई छ।

बस्तीबाट ३ घण्टाको पैदल यात्रा पछि पुगिने उक्त डाँडामा केन्द्रिय विद्युतको लाईन विस्तार गरेर टावर सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिंखडाले जानकारी दिए ।

“टेलिकमले अहिले अस्थायी टावर निर्माण गरि मोबाइल सेवा सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नती गरी अत्याधुनिक प्रविधीको फोरजी सेवा मार्फत भ्वाईस र उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,” सिंखडाले भने।

पहिले मोबाइल सेवा नहुँदा दुख पाएका नागरिकले टेलिकमको टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि रघुगंगा गाउँपालिका वडा नं ५ झिंईमा १ सय, वडा नं ६ पाखापानीमा १ सय, वडा नं ७ चिमखोलामा १ सय, वडा नं ८ कुईनेमंगलेमा २५० घरधुरी प्रत्यक्ष लाभान्वित भएको रघुगंगा गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष थक बहादुर पाईजाले जानकारी दिए।

मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय भ्वाइस तथा डाटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ। टावर निर्माण सँगै त्यस क्षेत्रको प्रचार प्रसार र सूचना आदान प्रदानको निमित्त थप सहज भएको स्थानियले बताएका छन्।

विद्युतिकरण तथा पोल टावर निर्माण र जडानमा टुडे हाईड्रो पावर कम्पनीले सहयोग गरेको हाईड्रो पावरका ईन्जिनियर प्रकाश तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...