
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीमा बढाईएको करको बारेमा स्पष्टिकरण दिएका छन्।
आज बसेको संघिय संसदको प्रतिनिधि सभा बैठकमा उनले विद्युतीय गाडीमा बढाईएको करहरुको बारेमा स्पष्ट पारेका हुन्। उनले इलेक्टिक गाडीमा बढाईएको कर सम्पन्नका लागि ल्याईएको बताएका हुन्।
“१०० किलोवाटसम्मका अहिले बजारमा १३ प्रकारका साधनहरु उपलब्ध छन्,” उनले भने, “तिनमा वृद्धि गरिएको छैन् र त्यसभन्दा माथिका गाडीमा मात्र बढाईएको हो।”
कर वृद्धिले हुने असर बारे उनले उदाहरण दिँदै ६० लाख पर्ने गाडीलाई ६८ लाख पर्ने भएको र त्यस मूनिको गाडीमा मूल्यवृद्धि नगरेको दाबी गरे।
उनले थोरै मात्र मूल्य वृद्धि गरिएको भन्दै त्यस्ता गाडी सरकार र सम्पन्न व्यक्तिहरुले मात्रै किन्ने जिकिर गरे।
यसको लागि डलरमा रकम पठाउनुपर्ने भन्दै सरकारले डलर कम बाहिरियोस् भनेर ध्यान दिएको बताए।
“यसको लागि थोरै क्षतिपूर्ति होस् भनेर अलिकति बढाईएको छ। महंगो विद्युतीय गाडी सरकारले नै किन्ने हो र थोरै सम्पन्न भएकाहरुले नै केहि थप मूल्य हालेर किन्ने हो,” उनले भने, “थोरै ८।१० लाख थपेर किन्दा पनि सरकारलाई नै आउने हो।”
अर्थमन्त्रीकाअनुसार आम सर्वसाधारणले किन्नका लागि विभिन्न १३ प्रकारका इलेक्ट्रिक गाडी उपलब्ध रहेको बताए।
उनकाअनुसार विद्युतीय गाडी अन्य प्रकारको गाडीहरु भन्दा ५० प्रतिशत सस्तो छ। यसमा कुनै पनि स्वार्थ वा नियत नभएको भन्दै देशको अवस्था राजस्वको अवस्था र डलरको अवस्थालाई ध्यान दिएर बढाएको दाबी गरे।
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार