काठमाडौं ।
बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ।
आज (शुक्रबार) यातायात व्यवस्था विभागले सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेज जाडन नगरिए साउन १ गतेदेखि ट्राफिक प्रहरीले कारवाही गर्ने जानकारी दिएको छ।
सरकारले २०७८ कार्तिक २२ गते राजपत्रमा सूचना प्रकाशित गरी मंसिर १ गतेदेखि नयाँ सवारीसाधनमा इन्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ को क्रमसंख्या १४ ले दिएको अधिकार प्रयोग गरी ५ प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ ।
पहिलो चरणमा इम्बोस्ड नम्बर बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा लागू हुनेछ ।
सार्वजनिक, पर्यटक, निजी सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर लागू हुनेछ।
नयाँ सवारी दर्तामा मंसिर १ गतेदेखि इम्बोस्ड नम्बर जडान हुनेछ। फागुन १ गतेदेखि सवारी नामसारीमा इम्बोस्ड नम्बर लागू हुनेछ।
२०७९ जेठ १ गतेदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरणमा इम्बोस्ड नम्बर प्लेज जडान अनिवार्य गरिएको थियो।
‘प्रचलित ऐन तथा नियममा भएको व्यवस्था बमोजिम सवारीहरुमा अविलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन हुन बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौं र गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी), पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सबै सवारीहरुका सवारीधनीहरुलाई जानकारी गराइन्छ,’ विभागको सूचनामा लेखिएको छ।
यस्तै सूचनामा, ‘बागमती र गण्डकी प्रदेशका माथि उल्लिखित कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा २०७९ साउन १ पश्चात ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जाडन नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुनेछ।’
प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार