इन्टरनेट सेवा केन्द्रहरुमा विद्युत लाइन काटिए, कक्षा १२ को परीक्षा प्रभावित हुनसक्ने आशंका

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
इन्टरनेट सेवा केन्द्रहरुमा विद्युत लाइन काटिए, कक्षा १२ को परीक्षा प्रभावित हुनसक्ने आशंका
नेपाल विद्युत प्राधिकरण चितवन बितरण केन्द्रका कर्मचारी पोलमा रहेको इन्टरनेटको तार काट्दै। फाइल तस्बिर

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायकहरुले यहि जेठ १६ गतेदेखि देशभर संचालन भईरहेको कक्षा १२ को वार्षिक परीक्षा प्रभावित हुनसक्ने चेतावनी दिएका छन्।

हाल राष्ट्रिय परीक्षा बोर्डले देशभर संचालन गरिरहेको कक्षा १२ को परीक्षाका लागि दैनिकरुपमा इमेलमार्फत प्रश्नपत्रहरु देशभर पठाउँदै आएको छ। सोहि प्रश्नपत्रको आधारमा दैनिकरुपमा लाखौं विद्यार्थीहरुले परीक्षा दिईरहेका छन्।

तर इन्टरनेट सेवा प्रदायकहरुले देशभर जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएसँगै सो परीक्षा प्रभावित हुने देखिएको छ।

बोर्डले जेठ १३ गते नै नेपाल दूरसञ्चार प्राधिकरणलाई जेठ २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा संचालन हुने र उक्त परीक्षाका लागि आवश्यक गोप्य सामग्रीहरु इमेलमार्फत देशैभरका परीक्षा केन्द्रहरुमा पठाइने जानकारी गराउँदै सो अवधिमा बिहान ७ बजेदेखि १० बजेको समयसम्म देशभरका इन्टरनेट सेवामा अवरोधन नहुने गरी व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिनका लागि अनुरोध गरेको थियो ।

सोहि आधारमा दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरुलाई जेठ १७ गते मंगलबार निर्देशन दिँदै जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परिक्षा संचालन भइरहेको हुँदा सो परिक्षाका लागि आवश्यक गोप्य सामग्रीहरु इमेलमार्फत देशभरका परीक्षा केन्द्रहरुमा पठाइने हुँदा बिहान ७ बजेदेखि १० बजेसम्मको समयमा देशैभरको इन्टरनेट सेवामा अवरोध नहुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

तर सोहि समयमा नेपाल विद्युत प्राधिकरणले बिराटनगर, धरानलगायतका क्षेत्रहरुमा सेवा प्रदायकहरुको देशभरका डाटा सेन्टरहरुमा विद्युत सेवा अवरुद्ध गर्ने कार्य गरिरहेको छ। हाल सो अवरुद्ध गर्ने कार्य जारी रहेको इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानले जनाएको छ।

सोही कारण बोर्ड र दूरसञ्चार प्राधिकरणले भनेअनुसार सो अवधिमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने र सेवा दिन नसकिने आइस्पानले चेतावनी दिएको हो । यसले गर्दा कक्षा १२ को परीक्षाको लागि गोप्य सामग्रीहरु अर्थात प्रश्नपत्र नै पठाउन नसकिने अवस्था आउने र यसले देशभर परीक्षा नै प्रभावित हुनसक्ने देखिएको छ।

“एकातर्फ राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभरी प्रवाह गर्न भनिरहेको छ भने अर्कोतर्फ नेपाल विद्युत प्राधिकरणका क्रियाकलापहरुले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ। यसकारण यस स्थितिले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनमा प्रतिकुल असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउदछौँ।” आइस्पानको विज्ञप्तिमा उल्लेख छ।

समस्या समाधान गर्नका लागि आइस्पानले सरोकारबाला निकायहरु सबैको ध्यानाकर्षण गराएको जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार