Technology Khabar १८ जेष्ठ २०७९, बुधबार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुले संघले जुनसुकै बेला देशभर इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरुकोछाता संस्था आइस्पानले आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेवा प्रदायकहरुका डाटा सेन्टरमा विद्युत काटिदिएको भन्दै देशभर जहाँसुकै जुनसुकै बखतमा सेवा बन्द हुने चेतावनी दिएको हो।
इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणलाई यसअघि सरकारले गठन गरेको भाडादर सिफारिस समितिको प्रतिवेदनको आधारमा भाडा बुझाउन तयार भएको भन्दै प्राधिकरणमा स्वयं उपस्थित भई पत्र बुझाएका छन्।
तर प्राधिकरणले उक्त प्रतिवेदनलाई नमानेको र विद्युत प्राधिकरणका कार्यालयहरुले विवादित पोलभाडाको निहुँ पारेर देशभरका सेवा प्रदायकहरुको डाटा सेन्टरमा प्रयोग भईरहेको विद्युत लाईन कादिएका छन्। जसले गर्दा विभिन्न स्थानहरुमा सेवा अवरुद्ध भएको आइस्पानले जानकारी दिएको छ।
यसका साथै विद्युत प्राधिकरणले सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाईन काट्ने लगायतका गतिबिधिहरुले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकेको भन्दै धेरै इन्टरनेट प्वाइन्टह बन्द भएको जनाएको छ ।
यस सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि जानकारी गराउँदै इन्टरनेट सेवा प्रदायकहरुले पत्र दर्ता गराएको जनाएका छन्।
“यसकारण यो स्थितिमा हामीले इन्टरनेट सेवा प्रवाह गर्ने साधन र वातावरण नभएका कारण देशभरि इन्टरनेट सेवा अवरुद्ध हुन लागेको छ। त्यसैले ग्राहक महानुभावहरुमा क्षमा याचना गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कार्य गरी उच्च स्तरिय समितीले प्रतिवेदन कार्यान्वयन गर्न/गराउन हार्दिक अपिल गर्दछौँ,” प्रेस विज्ञप्तिमा भनिएको छ।
यसैबीच दूरसञ्चार प्राधिकरणले पत्रमार्फत सेवा प्रदायकहरुलाई दिएको आदेशअनुसार पनि राष्ट्रिय परीक्षा बोर्डद्वारा देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन मिलाउने निर्देश/अनुरोध उपर आवश्यक कार्य गर्न इन्टरनेट सेवा प्रदायकहरु असमर्थ भएको जानकारी गराएको छ।
विज्ञप्तिमा भनिएको छ’ “एकातर्फ राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभरी प्रवाह गर्न भनिरहेको छ भने अर्कोतर्फ नेपाल विद्युत प्राधिकरणका क्रियाकलापहरुले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ। यसकारण यस स्थितिले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनमा प्रतिकुल असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउदछौँ।”
यसकारण आमउपभोक्ताको घर-घरमा, बैँक तथा वित्तिय क्षेत्र, उड्डयन क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लगायतका संवेदनशील क्षेत्रहरुमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुन सक्ने स्थिति सृजित भएको जनाएको छ।
आईस्पानले इन्टरनेट ब्ल्याकआउन हुन नदिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालय लगायत सम्बन्धित नेपाल सरकारका अंगहरुलाई हार्दिक अपिलसमेत गरेको छ।
हेर्नुस् विज्ञप्ति-
अत्यन्त जरुरी सूचना-ISPANप्रकाशित: १८ जेष्ठ २०७९, बुधबार