इलेक्ट्रिक सवारीको ब्याट्रीमा भारतद्वारा बीआईएस सर्टिफिकेट अनिवार्य गरिँदै

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
इलेक्ट्रिक सवारीको ब्याट्रीमा भारतद्वारा बीआईएस सर्टिफिकेट अनिवार्य गरिँदै

काठमाडौं ।

भारत सरकारले इलेक्ट्रिक सवारीसाधनमा प्रयोग हुने ब्याट्रीका लागि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) सर्टिफिकेट अनिवार्य गर्ने तयारी गरेको छ।

पछिल्लो समय भारतमा इलेक्ट्रिक सवारीसाधनमा आगलागीको घटना बढ्दो क्रममा रहेकोले गुणस्तर सुनिश्चितताका लागि यसो गर्न लागिएको बुझिएको छ।

भारत सरकारले इलेक्ट्रिक सवारीसाधनमा आगलागी हुने कारण पत्ता लगाउनका लागि छानबिन समिति गठन गरेको छ। उक्त समितिले छिट्टै आफ्नो रिपोर्ट सरकारलाई बुझाउने छ।

उक्त रिपोर्टका आधारमा इलेक्ट्रिक सवारीसाधनको ब्याट्रीमा बीआईएस लागू गर्ने सीएनबीसी टिभी१८ले समाचार प्रकाशन गरेको छ।

ईभी ब्याट्रीका लागि बीआईएस स्ट्यान्डर्ड ‘आकार, कनेक्टर, विनिर्देश र ब्याट्री सेलको न्यूनतम गुणस्तर र ब्याट्री क्षमताको आधारमा तय गरिनेछ। बीइआईएस स्ट्यान्डर्ड लागू गर्नका लागि सरकारले ब्याट्री उद्योगका प्रतिनिधिहरुसँग सम्पर्क गरिरहेको छ।

प्रारम्भिक रिपोर्ट अनुसार ब्याट्री प्याक र मोडल डिजाइन सहित ब्याट्रीमा त्रुटि पाइएको छ।

भारतमा हालसम्म ३ ओटा प्योर ईभी, एउटा ओला ई–स्कुटर, ३ ओटा ओकिनाव र २० ओटा जितेन्द्र ई-स्कुटरमा लागलागी भइसकेको छ।

यसले गर्दा ई–स्कुटरको सुरक्षामा प्रश्न उठिरहेको छ। धेरै निर्माताले खराबी देखिएको स्कुटरको सम्पूर्ण ब्याच फिर्ता बोलाइसकेका छन्।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार