सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा चार जना पक्राउ

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौं ।

सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-१५ ठेगाना भएका ५५ वर्षीय राज भन्ने मिन बहादुर थापा, भारत हैदरबाद रङरिडी मन्द्रुनगर ठेगाना भएका ३३ वर्षीय फेनि कुमार जेट्टी, २४ वर्षीय हेमन्त भुद्दगिरी र ३२ वर्षीय भाष्कर नायक रहेको प्रहरीले जानकारी दिएको छ।

ल्यापटप, मोबाईल, क्यामरा जस्ता सामाग्रीहरु बिक्री गर्नको लागि सामाजिक संजाल हाम्रो बजार डटकममा बिज्ञापन राखेकोमा उक्त सामान किन्नको लागि उक्त पेजमा क्रिस्टोफर पिलग्रिम नाम बताउने व्यक्तिले ‘आफू युएसएमा छु, नेपालमा रहेको मेरो साथीलाई ल्यापटप गिफ्ट दिनु पर्नेछ, तपाईलाई कुरियर गरेको चार्ज एक्ट्रा ५ हजार दिन्छु’ भनि म्यासेज गरेका थिए।

यसपछि उनीहरुले पीडितको बैंक खाता नम्बर समेत लिई ल्यापटपको भुक्तानी र कुरियर चार्ज समेत बैंक खातामा पठाएको छु भनि विश्वासमा पारी विक्रम थापाको नाममा रुपन्देहीको भैरहवामा उक्त ल्यापटप कुरियर गर्न लगाई ट्याक्स तिर्न तथा स्विपकोड लिनको लागि समेत भनि मिन बहादुर थापाको नामको एनआइसि एसिया  बैंकको खातामा ७० हजार पठाउन लगाई उनीहरूले ठगी गरेको खुल्न आएको छ।

उक्त कार्यमा संलग्न उनीहरूलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट भारतीय १ लाख ६५ हजार रूपैयाँ, क्यामरा १ थान, विभिन्न कम्पनीका ल्यापटप ३ थान, विभिन्न कम्पनीका मोबाइल ९ थान, स्मार्टवाच १ थान, गितार १ थान र बुद्धको मुर्ति १ थान प्रहरीले बरामद गरेको छ।

उनीलाई उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...