
काठमाडौं ।
सरकारले महंगा स्मार्टफोनहरुमा अन्तशुल्क दर वृद्धि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको लागि महंगा स्मार्टफोनहरुमा अन्तशुल्क दरथप गरेर ५ प्रतिशत पुर्याएको छ।
सरकारले ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ मार्फत महंगा स्मार्टफोनहरुमा अन्तशुल्क दरमा वृद्धि गरेको हो।
यसका साथै सो विद्येयकमार्फत सस्ता स्मार्टफोनहरुको लागि लिईने अन्तशुल्क दर भने यसअघिको जस्तै समान रहेको छ। यसको अर्थ आगामी आवमा पनि सरकारले सस्ता स्मार्टफोनहरुमा अन्तशुल्क दर २.५ प्रतिशत नै लिने भएको हो ।
विद्येयकमार्फत यसअघिको भन्सारको कोड र व्यवस्थामा संसोधन गरिएको छ । जसअनुसार अब टेलिफोन सेटहरु, सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरुलाई नयाँरुपमा “स्मार्टफोनहरु र अन्य टेलिफोन समेत” भन्ने उपशीर्षकमा परिवर्तन गरिएको छ। जसअनुसार सरकारले “स्मार्टफोनहरु” र “सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरु” भन्ने दुई वर्गमा विभाजन गरेको छ।
यी दुबै किसिमका मोबाइल फोनहरुमा भन्सार शुल्क माफी गरिएको भएपनि स्मार्टफोनमा ५ प्रतिशत अन्तशुल्क दर तथा सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरु २.५ प्रतिशत अन्तशुल्क दर तोकेको छ।
तर स्मार्टफोनको छुट्टै व्याख्या भने विद्येयकमा गरिएको छैन्।
यी दुबै वस्तु यसअघि भन्सारको ८५१७.१२.०० अन्तरगतको कोडमा आयात हुने गरेको थियो ।
अब सरकारले दुबैलाई छुट्याएर स्मार्टफोनलाई ८५१७.१३.०० र सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरुका लागि ८५१७.१४.०० कायम गरेको छ।
स्मरण रहोस् हाल सरकारले ६०० अमेरिकी डलर भन्दा माथिका स्मार्टफोनहरु लग्जरी भन्दै आयातमा रोक लगाएको छ भने त्यसभन्दा कम शुल्क भएका फोनको आयात भईरहेको छ।
संभवत सरकारले आगामी दिनमा सबै आयात खुला गरेपनि त्यसलाई अन्तशुल्कमार्फत नियन्त्रण गर्ने प्रयास गर्ने देखिन्छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार