
काठमाडौं ।
सरकारले साढे १७ हजार सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गरेको छ।
सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म १७ हजार ४१८ सवारीसाधनमा ईम्मबोस्ड नम्बर प्लेट जडान गरिएको हो।
२०७८ असारसम्ममा ३८ हजार ३०३ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ९ हजार ५१ सवारीसाधनमा जडान गरिएको थियो। चालु आवको फागुन मसान्तसम्म १ लाख ३५ हजार ३४१ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ८ हजार ३६७ सवारीसाधनमा जडान गरिएको छ।
२०७३ जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच ५ वर्ष भित्र २५ लाख इम्बोस्ड नम्बर बनाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।
उक्त सम्झौताको एक वर्षपछि २०७४ भदौमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायतले ईम्बोस्ड नम्बर प्लेट अनावरण गरेका थिए। सरकारले २०७७ साल भित्रमा २५ लाख सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको थियो।
ईम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनु पर्ने भन्दै अदालतमा मुद्दा दायर भएकाले करिब २ वर्ष जडान कार्य रोकिएको थियो।
अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान वा वितरण गर्न रोक लगाउन माग गर्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले २७ मंसिर २०७६ मा खारेज गरेको थियो।
अदालतले गरेको फैसलाको पूर्णपाठ २०७७ असारमा आएको थियो। अदालतले बाटो खोलिदिएपछि पछिल्लोपटक १ साउन २०७७ देखि पुनः इम्बोस्ड नम्बर जडान शुरु गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार