
काठमाडौं ।
क्रिप्टो एक्सचेन्ज संस्था बाइनान्सले यूरोपमा आफ्नो सेवा विस्तारका लागि इटलीमा दर्ता गरेको छ।
इटलीमा गरिएको बाइनान्सको दर्ताले कम्पनीलाई अझ उत्तरदायी बनाउने तथा सम्पत्ति शुद्धीकरणको सम्भावना घटाउने रोयटर्सले जनाएको छ।
कम्पनीले अब इटलीमै कार्यालय खोलेर स्थानीय टोली निर्माण गर्ने बताएको छ।
कम्पनी इटलीमा क्रिप्टोकरेन्सी उद्योग अनुगमन गर्ने अर्गानिज्मो डेग्ली एग्नेटी ए मेई मेडियाटोरी अर्थात् ओएएममा दर्ता हुने १४औं भर्चुअल सम्पत्तिसम्बन्धी संस्था हुन पुगेक छ।
यो निर्णय बाइनान्समाथि नियामकहरुले आफ्ना सेवा तथा सामग्री यूरोपभर उपलब्ध गराउन अंकुश लगाएको एक वर्षपछि आएको हो। यो प्रतिबन्धले इटलीमा कम्पनीले आफ्नो डेरिभेटिभ व्यापार रोक्नुपरेको थियो।
यसै महिनाको शुरुवातमा बाइनान्सका सीईओ चाङपेङ झाओले कम्पनी फ्रान्सको नियामक संस्थामा पनि दर्ता गरिएको बताएका थिए।
कम्पनीले स्विजरल्याण्ड, स्विडेन, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल तथा अस्ट्रियामा पनि दर्ता गर्ने योजना रहेको बताइएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार