
काठमाडौं ।
मोबाइल फोन इम्पोर्टर्स एसोसिएशनका अध्यक्ष दिपक मलहोत्राले मोबाइल फोनको आयात रोक्न नहुने बताएका छन्।
सरकारले हाल ६०० अमेरिकी डलरभन्दा माथिको आयात रोकेको छ। सरकारको उक्त निर्णयमा एसोसिएशन सहमत नभएको मलहोत्राले बताए।
‘अरु वस्तु सस्तो भए पनि हुन्छ। तर अत्याधिक सुविधा र फिचर हुने हुँदा मोबाइल फोन केहि महँगो हुन्छ,’ मोबाइल व्यवसायीका समसामयिक, आर्थिक, बैंकिङ, आयात, एमडीएमएस तथा अवैध गतिविधिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मलहोत्राले भने, ‘महँगो भएपनि मोबाइलको आयात रोक्नु हुँदैन।’
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भए चोरी पैठारी कम हुने उनले बताए। अहिले पनि नेपालमा ४० प्रतिशतभन्दा बढी चोरीका मोबाइल प्रयोग हुने उनले दाबी गरे।
सरकारले बजेटमार्फत् मोबाइलको अन्त:शुल्क बढाउने तयारी गरेको भन्दै बजेट मार्फत् गरिने यस्तो व्यवस्था कसैको हितमा नहुने उनले बताए।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न सकिए मोबाइल व्यवसाय वृद्धि हुनका साथै राज्यको राजश्व बढ्ने तर्फ पनि उनले ध्यानकर्षण गराए।
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार