भारतीय एयरलाइन्स स्पाइसजेटको प्रणालीमा साइबर आक्रमण

Technology Khabar १२ जेष्ठ २०७९, बिहीबार

काठमाडौं ।

भारतीय एयरलाइन्स कम्पनी स्पाइसजेटको प्रणालीमा मे २४ तारिख मंगलबार राति साइबर आक्रमण भएको छ। स्पाइसजेटको प्रणालीमा र्यान्समवेयरद्धारा आक्रमण गरिएको कम्पनीले जानकारी दिएको छ।

यसले कम्पनीका उडानहरूसँग सम्बन्धित सञ्चालन सुस्त बनाएको छ र बुधबार बिहानका धेरै उडानहरू प्रभावित भएको छ। एयरलाइन्सले बुधबार ट्विटरमार्फत यो जानकारी दिएको हो।

स्पाइसजेटका अनुसार मंगलबार राति स्पाइसजेटको प्रणालीमा र्यान्समवेयर आक्रमणको प्रयास गरिएको थियो र जसका कारण बुधबार बिहान केही उडानहरू ढिला भएको थियो।

“हाम्रो आईटी टोलीले स्थिति नियन्त्रण र सुधार गरेको छ। अहिले उडानहरु सामान्य रुपमा चलिरहेका छन्,” कम्पनीले भनेको छ।

यसका साथै कम्पनीले यस विषयमा साइबर सुरक्षा विज्ञ तथा साइबर अपराध नियन्त्रणका सरकारी अधिकारीहरुसँग सहकार्य गरिरहेको जनाएको छ।

स्पाइसजेटको उडान गत साता पनि भारतको राजधानी दिल्लीमा रोकिएको थियो। जसमा, यसको कारण उड्डयन कम्पनीले एयरपोर्ट अथोरिटी अफ इन्डियालाई शुल्क भुक्तानी नगरेको भनिएको थियो। एयरलाइन्सका प्रवक्ताले सफ्टवेयरमा प्राविधिक गडबडीका कारण दैनिक भुक्तानीमा ढिलाइ भएको बताएका थिए।

यसैबीच स्पाइसजेटले चाँडै उडानमा ब्रोडब्यान्ड सुरु गर्ने दाबी गरेको छ। केही दिन अघि स्पाइसजेटले आफ्नो विमानमा छिट्टै ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गर्ने अपेक्षा गरेको बताएको थियो।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया