
काठमाडौं ।
लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि नवलपुरका मुख्य नाकाहरूमा सीसीटीभी जडान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार भारतीय नाकानजिक रहेका कारण लागूऔषध ओसारपसार तथा कारोबार समस्या बढ्दै गएसँगै जिल्लामा अत्याधुनिक प्रणालीसहितको सीसीटीभी जडान गरिएको नवलपुर प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए।
यस्ता गतिविधि निगरानीका लागि गैँडाकोटको नारायणी पुल र दुम्कीवासमा सीसीटीभी जडान गरिएको छ।
प्रदेश प्रहरी कार्यालय पोखराले आफ्नो प्रदेशको प्रवेश नाकाहरूमा सुरक्षा व्यवस्था कडा बनाउँदै सडकमा हुने दुर्घटना न्यूनीकरण गर्न अत्याधुनिक सीसीटीभी जडानमा सहयोग गरेको हो।
यो प्रविधिसहितको क्यामरा जिल्लामै पहिलो पटक जडान गरिएको बताउँदै महर्जनले भने, ‘तीनवटा क्यामरामा डाटा रेकर्ड १५ देखि १८ दिनसम्म स्टोर गर्ने क्षमता छ।’
अहिले जडान गरिएको ठाउँबाट डेढदेखि दुई सय मिटरसम्म पनि क्लियर अब्जेक्ट दिने गरेको छ। दूर्घटना गराएर भाग्ने सवारीसाधनहरू तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई पहिचान गर्न पनि यसले ठूलो मद्दत मिल्ने भएको छ। गोरखापत्रबाट
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार