
काठमाडौं ।
अनलाइन मिटिङ प्लेटफर्म जूमको शेयर मूल्य १६ प्रतिशतले वृद्धि भएको छ।
गत सोमबारको कारोबारमा कम्पनीले पहिलो त्रैमासमा अपेक्षा गरेभन्दा राम्रो आम्दानी भएको भन्दै दोस्रो त्रैमासको आम्दानीको प्रक्षेपण पनि गरेको छ।
जूमको आम्दानीले विश्लेषकहरुको अनुमानलाई उछिनेको र वर्षभर नै अपेक्षा गरेभन्दा अब्बल आम्दानी हुनेतर्फ लक्षित गरेको सीएनबीसीले उल्लेख गरेको छ।
यसरी आम्दानी वृद्धि भएपछि कम्पनीले लागत घटाउने आकलन गरिएको छ। लगानीकर्ताहरु स्टकतर्फ जानका लागि मुद्रास्फीति तथा ब्याज दर घटाउन सहयोग पुग्नेगरी मुनाफा कमाउने कम्पनीहरुको खोजीमा रहेका छन्।
रिपोर्टमा जूमले पछिल्ला ५ त्रैमासमा कोरोना महामारीबिच ३ अंकको वृद्धि भएकामा हाल यो प्रवृत्ति घटेकाले शेयरधनीहरु भने केही चिन्तित भएको उल्लेख गरेको छ।
सोमबारको कारोबार बन्द हुँदा जूमको शेयर अक्टोबर २०२० मा पुगेको अत्यधिक अंकबाट ८५ प्रतिशत गिरावट आएको थियो। यो गिरावट यो वर्ष मात्रै ५० प्रतिशतको रहेको सीएनबीसीले उल्लेख गरेको छ।
सो अवधिमा राजस्व वृद्धि पनि २०० प्रतिशतबाट झरेर १२ प्रतिशतमा आइपुगेको थियो।
दोस्रो त्रैमासमा कम्पनीले ९.२ प्रतिशत वृद्धिसहित १.११५ देखि १.१२ अर्ब डलरसम्म राजस्व संकलन गर्ने प्रक्षेपण गरेको छ।
रिफिनिटिभका अनुसार विश्लेषकहरुले यो अवधिमा जूमले ८.७ प्रतिशतको वृद्धिसहित १.१ अर्ब डलर संकलन गर्ने प्रक्षेपण गरेका छन्।
यस्तै कम्पनीले प्रति शेयर आम्दानी ९० सेन्टदेखि ९२ सेन्टसम्म गर्ने र यो आँकडा विश्लेषकहरुले आकलन गरेको ८७ सेन्टको तुलनामा केही बढी भएको बुझिएको छ।
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार