
काठमाडौं ।
सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी स्थायी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।
पक्राउ परेका श्रेष्ठले सामाजिक सञ्जाल ह्वाट्सएप, इमो, बोटिम तथा भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भएको भन्दै चिनाउने गरेका बुझिएको छ।
उनले विभिन्न व्यक्तिलाई अमेरिकाबाट सञ्चालन भएको लट्री अर्थात् चिट्ठामार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको भन्दै उक्त रकम पाउनका लागि विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई विश्वासमा पार्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
यसरी विश्वासमा पारेपछि उनीहरुलाई नेपालमा रहेका विभिन्न व्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रूपैयाँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले ‘लट्रीको रकम आएपछि नेपालमा घर, गाडी खरिद गर्न सकिने र रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुँदा वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यवस्था तथा वकिललाई अग्रिम फि चाहिने र उनको आवतजावत व्यवस्थापन गर्नको लागि १ हजार ५ सय यूरो लाग्छ’ भन्ने जस्ता विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुबाट रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार श्रेष्ठलाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार