
काठमाडौं ।
भारतका विभिन्न शहरमा उड्ने कार सञ्चालन हुने भएको छ। भारत सरकारले आफ्नो अर्बन मोबिलिटी योजना अनुसार उड्ने कारको सर्भिस शुरु गर्ने तयारी गरेको छ।
भारतको केन्द्रीय उड्डयन मन्त्री ज्योतिरादित्य सिंधियाका अनुसार टेक अफ र ल्याडिङ गर्ने इलेक्ट्रिक सवारी (ईभीटीओएल) अमेरिका र क्यानडामा ट्रायल परीक्षण उत्तीर्ण गरेमा भारतमा ल्याइने ड्राइभस्पार्कले लेखेको छ।
मन्त्रीका अनुसार हाल अमेरिका र क्यानडाको एयर फोर्सले उड्ने कारको ट्रायल गरिरहेको छ।
ट्रायल पूरा भए पछि यस्ता कारलाई एभिएसन लाइसेन्स र उड्नका लागि सर्टिफिकेसन दिइने छ। यो प्रक्रिया पूरा भएपछि फ्लाइङ कार बनाउने कम्पनीलाई भारतमा लगानी गर्न र उत्पादन प्लान्ट स्थापनाका लागि प्रोत्साहन गरिनेछ।
अमेरिका र क्यानडाको फ्लाइङ कार निर्माता कम्पनीसँग भारत सरकारले कुराकानी अघि बढाइरहेको पनि मन्त्रीले जानकारी दिएको ड्राइभस्पार्कले लेखेको छ।
आगामी दिनमा भारतको मुख्य शहरमा फ्लाइङ कार नेटवर्कको लागि आवश्यक नेटवर्कमा काम गरिने पनि उनले बताए।
देशको हरेक मुख्य शहरमा फ्लाइङ कार नेटवर्कमा आफूले काम गर्ने उनले दावी गरे। भारतमा फ्लाइङ कारको परीक्षण गर्ने कार्य एयर फोर्सले गर्नेछ। परीक्षण सफल भएमा नागरिक उड्डयन क्षेत्रमा फ्लाइङ कोर्स सञ्चालन गर्ने अनुमति पनि प्रदान गरिनेछ।
यस परियोजनाका लागि बलियो अर्थव्यवस्था आवश्यक पर्ने पनि मन्त्रीले बताए। यसका लागि ठूलो लगानीको आवश्यकता पर्छ। पूर्वाधार निर्माणका लागि सरकारले ठूलो धनराशी लगानी गर्नु पर्ने हुन्छ।

फ्लाइङ कारका सम्बन्धमा विगत लामो समयदेखि अनुसन्धान र विकासको काम भइरहेको छ।
केही कम्पनीले आफ्नो फ्लाइङ कारको मोडल पूर्ण रुपमा तयार गरिसकेका छन् भने परीक्षण पनि शुरु गरिरहेका छन्।
हालका दिनमा नेदरल्याण्ड्सको कम्पनी ‘पाल-भी’ले फ्लाइङ कारको प्रोडक्सन मोडल तयार गरेको छ। यो कार लन्चको अन्तिम चरणमा छ।
अमेरिकी कम्पनी अर्बन एयर मोबिलिटी (यूएएम)ले पनि फ्लाइङ कार बनाउने घोषणा गरेको छ।
विमान निर्माता बोइङ र एयरबस पनि छिट्टै जापानमा फ्लाइङ कार लन्च गर्ने तयारीमा रहेका छ।
साथै भारतको चेन्नईमा रहेको स्टार्टअप कम्पनी पनि हाइब्रिड फ्लाइङ कारमा काम गरिरहेको छ। जसलाई सार्वजनिक यातायात र अत्यावश्यक सेवाका लागि प्रयोग गर्न सकिन्छ।
उक्त फ्लाइङ कार ‘विनाता एयरोमोबिलिटी’ले तयार गरिरहेको छ।
कम्पनीले गत वर्ष लन्डनमा आयोजित हेलिटेक प्रदर्शनमा उक्त फ्लाइङ कार प्रदर्शन गरेको थियो। हाल कम्पनी उक्त फ्लाइङ कारलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ।
यो फ्लाइङ कार प्रति घण्टा १२० किलोमिटरसम्मको उच्च गतिमा उड्ने कम्पनी दावी छ। यो कार ३ हजार फिटको उचाइसम्म उड्न सक्छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार