पुराना पैसा बेच्न खोज्दा इन्स्टाग्राममार्फत ठगिए

  • Technology Khabar | ८ जेष्ठ २०७९, आईतवार
पुराना पैसा बेच्न खोज्दा इन्स्टाग्राममार्फत ठगिए

काठमाडौं ।

पोखरा घर भएको एक महिलाले इन्स्टाग्रामबाट हालैमा आफू ठगिएको महसुस गरिन्। पहिचान नखुलाउने सर्तमा उनले आफूलाई इन्स्टाग्राम भेटिएको एउटा आइडीबाट २ लाख ८० हजार रुपैयाँ ठगिएको बताईन्। उहाँले प्रहरीमा निवेदन पनि दिइसकेकि छन् र यस विषयमा प्रहरीको अनुसन्धान जारी छ।

यसअघि पोखरासहित देशका विभिन्न ठाउँमा इन्टरनेट सामाजिक सञ्जालको प्रयोग गरि ठगिएका घटनाहरू बाहिर आएका थिए। विशेषत विदेशी मूलकाकेही भारतीय र केही नेपालीले नै सामाजिक सञ्जाल फेसबुकइमोह्वाट्स एपजिमेलइन्स्टाग्रामको प्रयोग गरि लटरी अर्थात् चिठ्ठा परेको छपुरस्कारउपहार पाएको छ भन्ने सन्देश टेक्स्टका साथै अडियोका माध्यममा पठाउने गर्दछन्। त्यसलाई नै पत्याएर उनीहरूसँग कुरा गर्न थालेपछि चलाखी रुपमा उनीहरूले गोप्य विवरण (इमेलबैंक खाता) मा नियन्त्रण गरि ठगीको काम सुरु गर्छन्। त्यस्ता गतिविधि गर्ने व्यक्तिहरूले सर्वसाधारणलाई पैसाको प्रलोभन देखाएर फसाएका छन्।

ठगीको फरक स्वरुप

इन्टरनेटका विभिन्न माध्यमबाट यसरी ठगी गर्नेहरूले हरेक पटक नयाँ र फरक तरिका अपनाउने गरेका छन्।  इन्स्टाग्रामबाट ठगिनुभएको महिलाको घटना फरक छ। उनले इन्स्टाग्राममा एक विदेशीको एकाउन्ट विज्ञापन भेटिन्। जसमा उक्त विदेशी ( ठेगाना अमेरिका लेखिएको छ) व्यक्तिले नेपालभारतलगायत देशका पुराना पैसाहरू आफूले डलरमा किन्ने बताएका थिए। उनले यो सबै कुरामा विश्वास गर्नुअघि त्यो मान्छेको सबै इन्स्टाग्रामको पोस्टहरू हेरिन्। त्यहाँ डलर प्राप्त भएको भनेर नेपालीले बनाएको भिडियोदेखि नेपाली पैसा पठाएको प्याकेजिङको भिडियो तथा तस्बिर पनि राखिएको थियो। उनले भनिन, ‘त्यो सबै देख्दा मलाई यो साँच्चिकै हो जस्तो लाग्यो। उ र म अंग्रेजीमा नै बोल्थ्यौ। पछि ह्वाट्सएपमा टेक्स्टमै कुरा हुन थाल्यो। मलाई विश्वास लाग्यो।’

उनले आफूसँग भएको पुराना नेपाली सिक्कापुरानो नोट जम्मा गरेर उक्त व्यक्तिलाई पठाईन्। उक्त व्यक्तिले नेपाली एक रुपैयाँको रु १० हजार र पुरानो नोटको रु २० हजार दिने बताएको थियो। यो जानकारी उसले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पनि राखेको थियो। उनले पठाएको नेपाली सिक्का र नोटबाट उनलाई ३ लाख ८० हजार रकम प्राप्त भनेर बताइयो।

महिलाले नेपाली पैसा कुरियर गरेर अमेरिका उक्त व्यक्तिको ठेगानामा पठाईन्। त्यसपश्चात् उसले डलर पठाउनका लागि कर तिर्नु पर्योअरु खर्च लाग्ने भयो बताउँदै पटक पटक गरि उनलाई २ लाख ८० हजार विभिन्न एकाउन्टमा पठाउन लगायो।

उनले आफूसँग र आफन्त साथी भाइसँग सापटी लिएर नै रकम पठाईन्। केही समयपश्चात् उनलाई डर लाग्न थाल्यो कतै ठगिएको त होइन भनेर शंका पनि हुन थाल्यो। उनले भनिन्, ‘मलाई शंका हुन थालेपछि मैले फोन गरे म्यासेज गरे तर उसले चिन्ता नगर पैसा आउँदै छ मात्र भनिरह्यो। र अहिले उसले मलाई ब्लक गरिसकेको छ। उसले इन्स्टाग्राममा फलो गरेकाहरूलाई पनि मैले सोधे अरुले पनि उसलाई विश्वास गरेर सिक्का पठाउन लागेका रहेछन्। मैले विश्वास नगर भनेर सजग गराए।’ उनलाई आफू ठगिएकोमा विश्वास नै लागेको छैन। उनलाई अन्जान मान्छेसँग सामाजिक सञ्जालमा साथी बनाउनेबोल्ने काम गर्नुहुँदैन रहेछ भन्ने महसुस भएको छ। उनले भनिन्, ‘अब म यसरी सामाजिक सञ्जालमा भेटिएकाहरूलाई विश्वास चाहिँ गर्न सक्दिनँ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले इन्टरनेटका विभिन्न माध्यमबाट सर्वसाधारण ठगिने क्रममा बढ्दो भएकाले यसबारेमा सचेतना जगाउनु निकै आवश्यक भएको बताए।

यस्ता घटनाका अपराधी नेपालमा नहुने भएकाले पीडितले न्याय पाउन मुस्किल छ। कास्की प्रहरीबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ मा कास्कीमा ७६ जनाले इन्टरनेटका विभिन्न माध्यमबाट आफू ठगीमा परेको भन्दै निवेदन दिएका थिए। यी मध्ये अझै ६५ वटा निवेदनमाथि अनुसन्धान जारी छ।

प्रवक्ता तिवारीले आफ्नो फोन तथा सामाजिक सञ्जालमा प्रलोभन देखाएर आउने अन्जान मानिसका सन्देशहरूलाई विश्वास नगरी सचेत र सजग भएर सामाजिक सञ्जालको प्रयोग गर्न अनुरोध गरे। श्रोतःआइएनएस-स्वतन्त्र समाचार

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार