
काठमाडौं ।
चिनियाँ डिस्प्ले निर्माता बीओईको आईफोन १४ का लागि पाएको ओएलईडी निर्माणको अर्डर गुमाउन सक्ने भएको छ।
बीओई अर्थात् बेइजिङ ओरियन्टल इलेक्ट्रोनिक्सले एप्पलसँग आईफोन १४ का लागि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने सम्झौता गरेको थियो।
तर दक्षिण कोरियाली प्रकाशन द इलेकको रिपोर्टमा कम्पनीले यसका लागि एप्पलबाट इजाजत पाउन भने बाँकी रहेको उल्लेख गरिएको छ।
यसका साथै कम्पनीले २०२२ का आईफोनका लागि ३ करोड थान ओएलईडी डिस्प्लेको अर्डर गुमाउन सक्ने पनि बताइएको छ।
यसो हुनुको मुख्य कारण बीओईले यसअघि आईफोन १३को ओएलईडी प्यानलका सर्किट चौडाई एप्पललाई जानकारी नदिई परिवर्तन गर्नु रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
बीओईद्वारा आईफोन १३ को लागि ओएलईडी उत्पादन गत फेब्रुअरीमै स्थगन भएको थियो भने कम्पनीले यसको कारण प्रस्ट्याउन एप्पलको मुख्यालयमा उच्च तहका कार्यकारीलाई पठाएको थियो।
बीओईले एप्पललाई आईफोन १४ का लागि ओएलईडी उत्पादनको इजाजत दिन आग्रह गरेको र एप्पलले भने यसबारेमा प्रस्ट जवाफ नदिएको जीएसएमएरिनाले जनाएको छ।
प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार