इलामको सूर्योदय नगरपालिका प्रविधिमैत्री बन्दै

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं ।

इलामको सूर्योदय नगरपालिकाको प्रविधिमैत्री अभियानले सार्थकता पाउँदै गएको छ। नगरका हरेक कामलाई प्रविधिमैत्री बनाउँदै लगिएको छ।स्थानीय तह निर्वाचनको मत परिणामसमेत सूर्योदय नगरपालिकामा ‘डिजिटल डिस्प्ले बोर्ड’ मा सार्वजनिक गरिएको थियो।

नगरका सूचना प्रविधि अधिकृत उज्वल सुवेदीका अनुसार मतगणनाका बेला गणना स्थलमा दलका कार्यकर्ताको भीड हुने भएकाले डिजिटल डिस्प्ले बोर्डमार्फत नतिजा सार्वजनिक गरिएको हो। सूचना प्रविधि अधिकृत सुवेदीले भने, “मत परिणाम सुन्न पर्खी रहनु परेन, डिस्प्लेमा जतिबेला हेरे पनि हुने बनाएका छौँ।”

निर्वाचनमा खटिएका कर्मचारीसँगको समन्वयमा नगरपालिकाले डिजिटल डिस्प्लेको प्रयोग गरेर मत परिणाम सार्वजनिक गरिएको जनाइएको छ।

निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्नासाथ नगरले डिस्प्लेमा राख्दै आएको छ। जतिबेला पनि मत परिणाम हेर्न मिल्ने भएपछि दलका कार्यकर्ता तथा मतदातालाई सहज भएको छ।

इलामका १० ओटा पालिकामध्ये डिजिटल डिस्प्ले बोर्डमार्फत् मत परिणाम सार्वजनिक गर्ने सूर्योदय नगरपालिका मात्र हो । सूर्योदय नगरपालिकाका १४ वडामध्ये १० ओटाको गणना सम्पन्न भएको छ। अबको दुई दिनमा सबै नतिजा सार्वजनिक हुने निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए।

सूर्योदय नगरपालिकाको प्रवेश द्वारमा समेत डिजिटल डिस्प्लेमा नगरको वडापत्र सार्वजनिक गरिँदै आएको छ। नगरका सवारी साधनलाई व्यवस्थित, सुरक्षित र किफायती बनाउन सवारी साधनमा जीपीएस जडान गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईका अनुसार अब विभिन्न सिफारिससमेत अनलाइनबाटै लिइने छ। उनका अनुसार आगामी आर्थिक वर्षको सुरुबाट नगरबाट हुने भुक्तानीसमेत ई पेमेन्ट मार्फत् गरिने छ।गोरखापत्रबाट

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया