
काठमाडौं ।
चिनियाँ उद्योगपति ज्याक मा नेतृत्वको अलिबाबा र एन्ट फाइनान्सियलले भारतीय पेमेन्ट कम्पनी पेटीएम ई-कमर्स प्रालिमा आफ्नो सम्पूर्ण शेयर बेचेका छन्।
पेटीएम ईकमर्श पेटीएम मलको मूल कम्पनी हो। अलिबाबा र एन्ट फाइनान्सियलको संयुक्तरुपमा पेटीएम मलमा ४३.३२ प्रतिशत हिस्सेदारी थियो। पाँच वर्षअघि अलिबाबा र एन्ट फाइनान्सियलले कम्पनीमा लगानी गरेका थिए र अहिले पेटीएम इ–कमर्सले दुवैको शेयर किनेको छ।
पेटीएम ई-कमर्स प्रालिले चीनको टी मलको रुपमा भारतमा पेटीएम मल सुरु गर्यो। कम्पनीले विश्वका धेरै ठूला कम्पनीहरुबाट करिब ८० करोड डलर कोष जुटाएको थियो। अहिले यो कम्पनीमा पैसा लगानी गरेका अनुभवी लगानीकर्ताले आफ्नो होल्डिङ बेचेका छन्।
पेटीएम ई-कमर्सले दिएको जानकारी अनुसार कम्पनीले अलिबाबाको सम्पूर्ण शेयर किनेको छ। कम्पनीमा अलिबाबाको २८.३४ प्रतिशत सेयर थियो । त्यस्तै, एन्ट फिनको १४.९८% सेयर पनि पेटीएम ई-कमर्सले खरिद गरेको छ। दुवैको कुल होल्डिङ ४३ दशमलव ३२ प्रतिशत रहेको र ४२ करोडमा सम्झौता भएको हो।
ज्याक माको व्यापार समूह अलिबाबाले ५ वर्षअघि पेटीएम मलमा लगानी गरेको थियो । यो लगानी लगभग २० लाख डलर भएको बताईएको छ।अलिबाबा बाहेक पेटीएम मलमा एन्ट फाइनान्सियल, सफ्टबैंक, एलिभेसन क्यापिटल र ईबे पनि समावेश थिए। कम्पनीले कुल ८० करोड डलर उठाएको थियो।
पेटीएम ई-कमर्सले कम्पनीको इक्विटी शेयर पूंजी र धितोपत्र प्रिमियम खाता घटाउने प्रस्ताव गरेको छ। यसका लागि मे २३ तारिखमा साधारणसभा बोलाइएको छ ।
प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार