ट्विटरको कानूनी समूहले आफूमाथि ‘गोप्य सम्झौता’ भंग गरेको आरोप लगाएको मस्कको भनाइ

  • Technology Khabar | २ जेष्ठ २०७९, सोमबार
ट्विटरको कानूनी समूहले आफूमाथि ‘गोप्य सम्झौता’ भंग गरेको आरोप लगाएको मस्कको भनाइ

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले ट्विटरको कानूनी समूहले आफूमाथि सम्झौताको गोप्यता भंग गरेको आरोप लगाएको बताएका छन्।

गत शुक्रबार उनले ४४ अर्ब डलरमा ट्विटर किन्ने निर्णय तत्कालका लागि स्थगित गरिएको ट्वीट गरेका थिए।

यसो गर्नुको कारण २०२२ को पहिलो त्रैमासको प्रतिवेदन अनुसार मनिटाइज गर्न मिल्ने फेक तथा स्पाम एकाउन्टको सङ्ख्या ५ प्रतिशतभन्दा कम रहेको पाइएकोले रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

उनको ट्वीटपछि कम्पनीका सीईओ पराग अग्रवालले कम्पनी सबैखाले अवस्थाका लागि तयार रहेको जवाफ दिएका थिए।

मस्कले १०० जनाको नमूना लिएर ट्विटरको सङ्ख्या पत्ता लगाउन परीक्षण गर्ने पनि बताएका थिए।

उनका अनुसार यो परीक्षणमा प्रयोग हुने कुनै एक पद्धतिका बारेमा ट्विटरको कानूनी समूहले चासो देखाएको हो।

‘मैले १०० जनाको नमूना छनोट गरें किनकि ट्विटरले ५ प्रतिशतभन्दा कम फेक/स्पाम/डुप्लिकेट सङ्ख्या थाहा पाउन यही पद्धति अपनाउने गर्छ’, उनले उक्त विवादित ट्वीटमा उल्लेख गरेका छन्।

उनले आफ्नो यो ट्वीटपछि ट्विटरको कानूनी टोलीले बट चेक स्याम्पल साइज १०० जनाको हुने गोप्यता भंग गरिदिएको आरोप लगाएको बताएका छन्।

ट्विटरले भने मस्कको ट्वीटमा टिप्पणी गर्न नमानेको इन्ग्याजेटले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...