स्मार्टफोन एप र ड्रोनबाट लामखुट्टे पत्ता लगाइने, मलेरियासँग लड्न मदत पुग्ने

  • Technology Khabar | १ जेष्ठ २०७९, आईतवार
स्मार्टफोन एप र ड्रोनबाट लामखुट्टे पत्ता लगाइने, मलेरियासँग लड्न मदत पुग्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

युनिभर्सिटी अफ साउथ फ्लोरिडाका जनस्वास्थ्य अनुसन्धानकर्ताले लामखुट्टे कहाँ बस्छ भनी पत्ता लगाउन सक्ने नयाँ प्रविधि विकास गरेका छन्।

यो प्रविधि अहिले अफ्रिकाको धेरै क्षेत्र तथा फ्लोरिडाकै टम्पा खाडी क्षेत्रमा कीट नियन्त्रण एजेन्सीहरूले प्रयोग गरिरहेक छन्। यस प्रविधिको सहायताले मलेरिया फैलाउने लामखुट्टे पत्ता लगाएर मार्न सकिन्छ।

एसोसिएट प्रोफेसर बेन्जामिन जेकबद्वारा विकसित स्मार्टफोनको एपले ड्रोन र स्याटेलाइट छवि (इमेज वा फोटो) सँग आफ्नो एल्गोरिदमहरू संयोजन गर्छ। अनि पहिले अज्ञात रहेका लामखुट्टेको प्रजनन क्षेत्र पहिचान गरेर सबै लामखुट्टे खत्तम गरिन्छ।

यो प्रविधिको सफलतापछि बेन्जामिन जेकबले सिक एण्ड डिस्ट्रोय (खोज्ने र विनाश गर्ने) भन्ने कार्यक्रम नै शुरू गरे र कम्बोडिया, युगान्डा, केन्या र रुवान्डाका संक्रामक क्षेत्रहरूमा मलेरियाको प्रकोप बढ्नुअघि नै एप प्रविधिको सहायताले लामखुट्टेको विनाश गर्न सरकारी एजेन्सीहरूलाई तालिम दिने कार्यक्रम शुरू गर्नुभएको छ।

जेकब भन्नुहुन्छ, ‘जुन देशमा यसको प्रकोप बढी छ, त्यसलाई वर्णन गर्नै सकिँदैन, यो एउटा त्रासदीजस्तै हो। स्थानीयवासीलाई तालिम दिनु मेरो लागि ठूलो कुरा हो। तिनीहरू यो प्रविधिको बारेमा जानकारी चाहन्छन् र  उनीहरू मलेरिया रोक्न जे गर्न पनि तयार छन् भन्ने मलाई लाग्छ।’

जेकबले आफ्नो अधिकांश अनुसन्धान युगान्डामा गर्नुभएको हो, जहाँ मलेरिया मृत्युको प्रमुख कारण हो। युगान्डामा  मलेरियाले विशेष गरी पाँच वर्ष मुनिका बालबालिकाहरूलाई अकालमै मार्छ। अमेरिकन जर्नल अफ एन्टोमोलोजीमा प्रकाशित आलेख अनुसार जेकबको अध्ययन गरेका १२० घरहरूमध्ये प्रत्येकमा कम्तीमा २०० ओटा लामखुट्टेहरू भेटिएका थिए।

आफूले प्रशिक्षित गरेका स्थानीय कीट नियन्त्रण अधिकारीहरूको सहयोगमा, जेकबले ड्रोनको सहायताबाट ३१ दिनमा १०० प्रतिशत पहिचान गरिएका लामखुट्टेका बासस्थानहरू नष्ट गर्नुका साथै र ६२ दिनमा पहिले उपचार गरिएका र मलेरिया शंकास्पद बिरामीहरूको रगतमा परजीवी स्तर हटाउन सफल भएका थिए।

यो प्रविधिले कसरी काम गर्छ?

यो प्रणालीले विशेष वातावरण र जीवहरूलाई प्रजाति वा बासस्थानसँग सम्बन्धित रातो-हरियो-निलो रङ्गको एक अर्कासँग नमिल्ने खालको “फिङ्गरप्रिन्ट” द्वारा पहिचान गरेर काम गर्दछ। लामखुट्टे खोजेर नष्ट गर्ने काममा पूर्ण सफल हुनका लागि, जेकबले आफ्नो ड्रोनलाई एल्गोरिदमहरू मार्फत लामखुट्टे बस्ने सक्ने सिमसार वा झ्याङजस्ता वस्तुहरूलाई बुझ्न सक्ने गरी इमेजहरूको डेटासेटहरू व्याख्या गर्न र क्याप्चर गर्न सक्षम बनाए। ड्रोनले प्रत्येक इमेजलाई विश्लेषण गर्ने र ती सतह पानी भए नभएको पहिचान गर्न सक्ने बनाइयो।

त्यसपछि डाटालाई लामखुट्टेको लार्भाको उपस्थिति वा अनुपस्थितिको आधारमा विभिन्न वर्गीकरण गर्ने र पानीले लामखुट्टेलाई प्रजनन गर्न मदत गर्छ कि गर्दैन भन्ने पत्ता लगाउन सक्ने बनाइयो। जेकबको एल्गोरिदमसँग जोडिएको, ड्रोनले लामखुट्टेहरू प्रजनन गर्ने सम्भावना रहेको पानीको श्रोत पत्ता लगाउने काम १०० प्रतिशत सही थियो।

जेकबले सन् २०१० देखि लामखुट्टेको अनुसन्धान गरिरहनु भएको छ,  त्यसको १० वर्षपछि मात्र ड्रोनको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) एल्गोरिदम परीक्षण गर्न थालेका छन्।त्यसपछि मात्र लामखुट्टे नियन्त्रणमा म्यापिङको सम्भावित क्षमता पत्ता लाग्यो। ‘लामखुट्टे छ कि भनेर पूरै खेतमा स्प्रे गर्नुको सट्टा हामी अहिले लामखुट्टे भएको ठाउँ पत्ता लगाएर त्यहाँ मात्रै औषधी छर्कन्छौ’, जेकब भन्छन्।

लामखुट्टे बस्ने ठाउँको ठ्याक्कै पहिचान गर्ने क्षमताका कारण  हानिकारक कीटनाशकहरूको प्रयोग कम हुन्छ र लामखुट्टेमा पनि त्यस्ता कीटनाशक विषादीको प्रतिरोधी क्षमता निर्माणको जोखिम पनि कम हुन्छ।

जेकबको म्यापिङले हिल्सबरो, मानाटी र पोल्क काउन्टीमा डेंगु र जिका भाइरस बोक्ने ९,००० भन्दा बढी लामखुट्टे बस्ने ठाउँ पत्ता लगाएर नष्ट गरिएको छ। जेकब अहिले स्थानीय अधिकारीहरूलाई एपमा प्रशिक्षण दिइरहेका छन् र यसको लार्भा नियन्त्रण प्रणाली सन् २०२३ मा पूर्ण हुने आशा गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...