
काठमाडौं ।
एक ३० वर्षे क्रिप्टो अर्बपतिले शेयर किनेपछि स्टक कम्पनी रबिनहूडको मूल्य आकाशिएको छ। स्टक र बिटक्वाइन दुवैको मूल्यमा गिरावट आएपछि उक्त अनलाइन ब्रोकरेजको बिक्री निकै नै ओरालो लागेको थियो।
कम्पनीले केही समयअघि आफ्ना यूजर घटेको र घाटा पनि भएको बताएको थियो। यसको शेयर मूल्य ४० प्रतिशत घटेपछि कम्पनीले आफ्ना सेवामा निकै कटौती गर्ने जनाएको थियो।
तर यसैबिच ३० वर्षे क्रिप्टो धनाढ्य साम ब्यांकम्यान-फ्राइडको लगानी संस्थाले ७.६ प्रतिशत शेयर किनेपछि शुक्रबार यसको शेयर मूल्य एकै पटक २५ प्रतिशतले बढेको छ।
बहामासमा रहेको एफटीएक्स नामक क्रिप्टोकरेन्सी स्टार्टअप कम्पनी चलाउने ब्यांकम्यान फ्राइडले सेक्युरिटिज एन्ड एक्सचेन्ज एसईसीमा पेश गरेको प्रतिवेदनमा रबिनहूड आकर्षक लगानी भएकोले आफूले शेयर किनेको उल्लेख गरेका छन्।
उनले आफ्नो भागको शेयर निष्क्रिय खालको हुने र तत्काल रबिनहूडमाथि नियन्त्रण वा प्रभाव पार्ने कुनै प्रकारको गतिविधि नगर्ने पनि बताएको सीएनएनले जनाएको छ।
प्रकाशित: १ जेष्ठ २०७९, आईतवार