काठमाडौं ।
क्रिप्टोकरेन्सीको आडमा पोन्जी स्किम चलाउने रुजा इग्नाटोभा युरोपमा मोस्ट वान्टेड अपराधीको सूचीमा परेकी छन्। इग्नाटोभाले आफूलाई ‘क्रिप्टोकोइन’ भन्ने गर्दथिन् र वनक्वाइन सुरु गरिन्। इग्नाटोभामाथि लगानीकर्तालाई ५ अर्ब डलर ठगी गरेको आरोप रहेको छ।
वनक्वाइन करिब आठ वर्ष पहिले सुरु भएको थियो। इग्नाटोभाले त्यसबेला यो क्वाइनले बिटक्वाइनलाई उछिन्ने दाबी गरिन् । यसमार्फत इग्नाटोभाले करिब १७५ देशका लगानीकर्ताबाट रकम जुटाइन् । वनक्वाइन (OneCoin) पूर्ण स्क्याम भएको खुलासा भएपछि उनी एथेन्स, ग्रीसमा भागिन्। त्यसयता इग्नाटोभा देखिएका छैनन्।
कानून लागू गर्न सहयोगका लागि युरोपेली संघको एजेन्सी युरोपोलले इग्नाटोभाको गिरफ्तारीमा सहयोग पुर्याउने सूचना दिनेलाई ५ हजार युरो पुरस्कार दिने घोषणा गरेको छ।
इग्नाटोभाको वनक्वाइन एक वित्तीय पोन्जी योजना जस्तै थियो। यसका सदस्यहरूलाई शैक्षिक क्रिप्टोकरेन्सी ट्रेडिंग प्याकेजहरू बेच्न भनियो। नयाँ सदस्यहरूलाई यी प्याकेजहरू बेच्न कमिसन दिइएको थियो।
यससँग सम्बन्धित धेरै चेतावनी संकेतहरू भए पनि धेरै मानिसहरूले यसमा लगानी गरेका थिए। वनक्वाइनसँग कुनै वास्तविक ब्लकचेन थिएन। यस योजनाका सदस्य संख्या ३० लाख पुगेको थियो।
अमेरिकाको न्यूयोर्कमा अभियोजकहरूले वनक्वाइनसँग सम्बन्धित प्रमुख व्यक्तिहरू विरुद्ध धोखाधडी र मनी लान्ड्रिङको आरोपमा मुद्दा दायर गरेका छन्। यस केसका अभियुक्तमा इग्नाटोभा, उनका भाइ कोन्स्टान्टिन इग्नाटोभ र मार्क स्कट थिए। कोन्स्टान्टिन तीन वर्षअघि पक्राउ परेका थिए। स्कटलाई पनि केही महिनाअघि पक्राउ गरिएको थियो। यद्यपि इग्नाटोभाको बारेमा कुनै जानकारी फेला परेको छैन।
हालै, अमेरिकाको न्यूयोर्कका सिनेटर केभिन थोमसले क्रिप्टो-सम्बन्धित घोटालाहरूलाई अपराधीकरण गर्ने प्रस्ताव गरे। उनले क्रिप्टोकरेन्सीको दुरुपयोग गर्ने र लगानीकर्ताहरूलाई हानि गर्नेहरूलाई कडा सजायको माग गर्ने संशोधित विधेयक पेश गरे।
यसबाहेक, क्रिप्टो विकासकर्ताहरूलाई लक्षित गर्ने ह्याकरहरूलाई अपराधीको रूपमा विचार गर्ने प्रस्ताव छ। यस विधेयकमा सजाय दिन सकिने धेरै गतिविधि समेटिएको छ। यसमा भर्चुअल टोकन धोखाधडी, प्राइभेट की धोखाधडी र रग पुल स्क्याम समावेश छ।
प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार