
काठमाडौं ।
नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकममा बेमेल परिवर्तन आएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चैत्र महिनासम्मको प्रतिवेदनमा फागुन मसान्तदेखि चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्यामा १ हजार २४८ ले वृद्धि भएको देखिएको छ।
फागुन महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार २ लाख ७३ हजार ६९९ रहेको थियो। यो सङ्ख्या चैत्र मसान्तसम्म आइपुग्दा २ लाख ७४ हजार ९४७ पुगेको छ।
सामान्यतया: कारोबार संख्या बढेपछि त्यसै हिसाबले कारोबार रकम बढ्नुपर्ने हो। तर फागुन मसान्तदेखि चैत मसान्तसम्मको एक महिनाको अवधिमा भने कारोबार सङ्ख्या बढे पनि कारोबार रकममा भने गरिवाट आएको तथ्याङ्क छ।
यही प्रवृत्ति २ महिना अघि अर्थात् पौष मसान्तदेखि माघ मसान्तसम्मको एक महिनाको अवधिमा पनि देखिएको थियो।
तर अघिल्लो महिना भने इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम दुवैमा बढोत्तरी आएको थियो।
आँकडा अनुसार फागुन मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् १३ अर्ब ७३ करोड ९० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा ६८ करोड रुपैयाँले घटेर १३ अर्ब ५ करोड ९० लाख रुपैयाँमा आइपुगेको छ।
प्रकाशित: २९ बैशाख २०७९, बिहीबार