चुनावको मौन अवधिमा सामाजिक सञ्जालको अनुमगन गर्न उच्चस्तरीय टोली

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार
चुनावको मौन अवधिमा सामाजिक सञ्जालको अनुमगन गर्न उच्चस्तरीय टोली

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय चुनावको मौन अवधिमा सामाजिक सञ्जालमा मिथ्या सूचना, दूष्प्रचारलगायतका विषयहरु समेत अनुगमन गर्ने भएको छ।

सामाजिक सञ्जालसहितका निर्वाचन आचारसंहिताको अनुगमनका लागि आयोगले देशभर १९ ओटा उच्चस्तरीय टोली खटाएको जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा भौतिक अनुगमनका साथसाथै सामाजिक सञ्जालमा मिथ्या सूचना, दूष्प्रचार र द्धेशपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए गरेको पाइएमा तत्काल आवश्यक कारबाही गर्ने जानकारी दिए।

सो टोलीले आचारसंहिता उलंघनका कार्यहरुमा त्यस्तो कारबाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिईएको उनले बताए।

मौन अवधि आज मंगलबार राती १२ बजेदेखि लागू हुँदैछ।

यसका साथै आयोगले मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार तथा दल वा दलसँग सम्बन्धित व्यक्तिहरुले निर्वाचन प्रचार प्रसार लगायतका कुनैपनि प्रकारका छलफल, सभा सम्मेलन, मत माग्ने लगायतका कार्य सामाजिक सञ्जाल, अनलाईनलगायतमा गर्न नहुने समेत स्पष्ट पार्दै आचारसंहिता पालन गरिदिन आयोगले आग्रह समेत गरेको छ।

यसका साथै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिमा भौतिक प्रचारसहित अभौतिक प्रचार प्रसार अर्थात सामाजिक सञ्जालको पनि अनुगमन गरिरहेको बताए।

“सामाजिक संजालहरुमार्फत पनि धेरै कुरा राख्ने गरिएको छ र राती १२ बजेपछि कुनैपनि पोष्ट र कुनैपनि प्रचार प्रसारका जानकारीहरु वा सामग्रीहरु नराखी दिनुहोला र पूर्ववत अवस्थामा गईदिन अनुरोध गर्दछु,” प्रमुख आयुक्त थपलियाले भने, “सुक्ष्म अनुमगन र विशेष अनुमगन टोली खटाएका छौं र यो ४८ घण्टामा थप जागा बसिदिन भनेका छौं।”

आयोगले यसअघि नै सामाजिक सञ्जालको अनुगमन गर्न नेपाल प्रहरीको साईबर ब्यूरो र नेपाली सेनाको प्रविधि विज्ञहरुमार्फत अनुगमन गरिरहेको जानकारी दिएको छ।

यो पनि हेर्नुस्-

जानिराखौं: निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार