
काठमाडौं ।
भारतसहित नेपाली बालबालिकाहरु माझ धेरै लोकप्रिय कार्टुन ‘छोटा भीम’ अब गेमिङ प्लेटफर्ममा आउँदैछ र यसलाई भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनीले ल्याउन लागेको छ।
छोटा भीम कार्टुन गेम जीयोगेम्समा उपलब्ध हुन गइरहेको भारतीय मिडियाहरुले जनाएका छन्। जीयोगेम्स र ग्रीन गोल्ड एनिमेसन प्रालिले छोटा भीम गेम्स बालबालिका र गेमिङ प्रेमीहरूसम्म पुर्याउन सहकार्य गरेका छन्। यसै गर्मीको समयबाट, छोटा भीम गेम एन्ड्रोइड स्मार्टफोनहरू र जियो सेट-टप बक्सहरू जस्ता प्लेटफर्महरूमा जीयोगेम्स एपमार्फत खेल्न सकिने रिपोर्टमा उल्लेख छ।
भारतमा सबैभन्दा लामो समयसम्म चलेको एनिमेटेड शो, छोटा भीम लामो समयदेखि भारतीय बालबालिकाको जीवनमा चर्चित बनेको छ। यो कार्टुन र यसमा रहेका क्यारेक्टरलाई बालबालिका मात्रै होइन ठूलाहरूले पनि मन पराउँछन्।
ग्रीन गोल्ड एनिमेसनका मुख्य रणनीति अधिकारी श्रीनिवास चिलाकलापुडीले भने, “हामी जियोगेम्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै उत्साहित छौं। जियोगेम्स सबै प्रकारका मोबाइल र उपकरणहरूमा उपलब्ध छन् र तिनीहरूको इको प्रणाली पनि उत्कृष्ट छ। जसले हामीलाई उत्कृष्ट प्लेटफर्म दिन्छ। यसले हाम्रा प्रशंसकहरूलाई धेरै डिभाइसहरूमा “छोटा भीम” जस्ता आफ्ना मनपर्ने पात्रहरूसँग जोडिन मद्दत गर्नेछ। हामी यसलाई ५ हाइपर क्याजुअल गेमहरू सहित लन्च गर्नेछौं र धेरै चाँडै थपिनेछ।
प्रकाशित: २५ बैशाख २०७९, आईतवार