
काठमाडौं ।
आउँदो वैशाख ३० गते सम्पन्न हुने स्थानीय निकायको निर्वाचनमा नागरिक एपमा रहेको मतदाता परिचय पत्रले पनि मान्यता पाउन सक्ने भएको छ।
आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार नागरिक एपमा भएको मतदाता परिचय पत्रको प्रतिलिपिका साथमा आफ्नो परिचय खुल्ने नागरिकता वा राष्ट्रिय परिचय पत्रजस्ता दस्तावेजको सक्कल देखाएमा त्यसलाई मान्यता दिन सकिने बताए।
तर हालसम्म उक्त सुविधाका बारेमा छलफल मात्र चलेको र सकारात्मक संकेत देखिए पनि निर्वाचन आयोगले यसलाई पारित गर्न भने बाँकी छ। आयोगले पारित गरेको खण्डमा सूचना निकालेर नै सार्वजनिक गरिने उनको भनाइ छ।
तर कुनै कारणवश आयोगले निर्णय नगरेमा भने यो सुविधा उपलब्ध नहुने पनि उनले बताए।
उनले भने, ‘नागरिक एपमा रहेको आफ्नो मतदाता परिचय पत्रका साथमा नागरिकताको सक्कल प्रति देखाएमा मतदान गर्न दिइने छलफल भएको छ। तर निर्वाचन आयोगले आधिकारिक रुपमा निर्णय नगरी यो लागू हुँदैन। आयोगले निर्णय गरेमा सूचना निकालेर सबैलाई सूचित गरिनेछ।’
अर्यालले भने झैं आयोगले निर्णय गरेको खण्डमा मतदाता परिचय पत्र हराएका व्यक्तिहरुले पनि निर्धक्कसँग आफ्नो मताधिकार प्रयोग गर्न पाउने देखिएको छ।
यस्तो छ प्रक्रिया
नागरिक एपमा आफ्नो मतादाता परिचय पत्रको सुनिश्चितताका लागि शुरुमा निर्वाचन आयोगको मतदाता नामावलीमा प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका, वडा तथा मतदान केन्द्र छनौट गरेर मतदाता परिचय पत्र नम्बर खोज्नुपर्छ।
त्यसपछि आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गरेर मतदाता परिचय पत्र नम्बर हालेर भेरिफाइ गर्नुपर्छ।
यसपछि उक्त नम्बर अनुसारको मतदाता परिचय पत्र एपमा आउँछ। उक्त मतदाता परिचय पत्रलाई सेभ तथा प्रिन्ट गरेर आफ्नो नागरिकताको सक्कल प्रतिसहित मतदान स्थलमा देखाएमा मतदान गर्न पाइनेछ।
स्मरण रहोस्, यो सुविधाका बारेमा निर्वाचन आयोगले अन्तिम निर्णय गर्न बाँकी छ।
प्रकाशित: २५ बैशाख २०७९, आईतवार