
काठमाडौं ।
साझा यातायातले तीन ओटा विद्युतीय बस काठमाडौँ ल्याएको छ । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ ओटा बस ल्याइने साझा यातायातले जनाएको छ। परीक्षणपछि यी बस काठमाडौँमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ।
बसको दर्ता, रुट परमिट, बीमा, चालकलाई तालिमलगायतका प्राविधिक काम सम्पन्न भएपछि परीक्षण गरिने साझाका सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए।
उनका अनुसार परीक्षण सफल भएको चार महिनामा बाँकी ३७ वटा विद्युतीय बस आउने छन्। साझाले चीनको सीएचटीसीएचओ कम्पनीसँग एउटा बसलाई डेढ करोड रुपियाँका दरले खरिद गरेको हो। ४० ओटा बसको मूल्य करिब ६१ करोड रुपियाँ पर्छ।
परीक्षणका लागि पहिलो चरणमा नौ मिटर लम्बाइका बस ल्याइएको छ। अब १२ मिटर लम्बाइका लामो दूरीमा सञ्चालन गर्ने बसहरू ल्याइने छ। अहिले २५ सिट र सोभन्दा बढी क्षमताका बस ल्याइएको छ। सरकारले २०७५ पुसमा तीन सय विद्युतीय बस सरकारले खरिद गर्ने निर्णय गरेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझालाई बस खरिदका लागि तीन अर्ब रुपियाँ दिइएको छ तर साझाले सम्झौताअनुसार काम नगरेको भन्दै २०७६ असोजमा उक्त रकम फिर्ता लिइएको थियो । २०७७ माघमा मन्त्रालयले फेरि साझालाई नै बस खरिद गर्न तीन अर्ब रुपियाँ दिएको थियो। सोही सम्झौताअनुसार साझाले पहिलो चरणमा तीनओटा विद्युतीय बस ल्याएको हो। गोरखापत्रबाट
प्रकाशित: २५ बैशाख २०७९, आईतवार