
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय मातहतका निकायबाट सम्पादन भएका कामको प्रगति प्रति असन्तुष्टि जनाएका छन्।
आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले जनताले अनुभूति गर्नसक्ने गरी काम गर्न सबै निकायका प्रमुखलाई निर्देशन दिए। बैठकमा व्यक्त भएका जानकारीबाट आफू सन्तुष्ट हुन नसकेको मन्त्री कार्कीले गुनासो गरे।
बैठकमा सहभागीलाई प्रश्न गर्दै उनले भने, “हामीले कार्य सम्पादन सम्झौता गर्यौं। तर के अहिले सम्झौताअनुसार काम अघि बढेका छन् त ? बैठकलाई बैठकमा सीमित नगरौँ।”
नागरिकसँग जोडिएका धेरै सेवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित भएको बताउँदै कार्कीले भने, “यो मन्त्रालय सरकारको अनुहार प्रस्तुत गर्ने निकाय हो। मुलुकका कतिपय स्थानमा अझै पनि टेलिफोन गर्न रुखमा चढ्नुपर्ने बाध्यता छ। इन्टरनेटको अवस्था पनि उस्तै छ। जनताले भोगिरहेका यस्ता समस्यालाई जतिसको छिटो पार लगाउनुपर्छ।”
हालसम्म जनताले अनुभूति गर्नेगरी काम गर्न नसकेपछि अबदेखि सबैले आत्मसमीक्षा गर्दै कागजमा लेखेअनुसार काम गर्न उनले निर्देशन दिए। काम गर्ने क्रममा कुनै व्यावहारिक समस्या आइपरेमा तत्काल मन्त्रालयमा जानकारी गराउन पनि उनले सबै निकायका प्रतिनिधिलाई अनुरोध गरे।
उनले भने, “सरकारको नीति, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषय छन् भने पनि जानकारी गराउनुस्। ती विषयलाई बजेटमा समावेश गराउन पहल गर्छु।”
अर्को समीक्षा बैठकमा भने चित्तबुझ्ने कार्य प्रगति बुझाउन निर्देशन दिँदै उनले भने, “जनताले काम खोजेका छन्। कार्यान्वयन खोजेका छन्। हाम्रो योग्यता र क्षमताअनुसार काम गरेर देखाउने गतिमा हिँडौँ।”
बैठकमा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले काम गर्ने क्रममा कुनै नीतिगत समस्या आइपरेमा तत्काल सुधार्न जनताले अनुभूति गर्नेगरी काम गर्न मन्त्रालय तयार रहेको बताए। उनले भने, “नीतिगत तथा प्रक्रियागत कामलाई छिटो टुङ्ग्याऔँ। अबको दुई महिनामा बाँकी काम सम्पन्न गरौ।”
बैठकमा सहभागी मन्त्रालय सम्बद्ध निकायका प्रतिनिधिले आआफ्ना कार्यालयका प्रगति विवरण पेस गरेका थिए।
मन्त्रालयका अनुसार तेस्रो त्रैमासिक अवधिमा मन्त्रालयको पुँजीगत खर्च ३६.८३ प्रतिशत मात्रै भएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा सुरु हुनुपर्ने तथा सम्पन्न हुनुपर्ने १२४ ओटा माइलस्टोनमध्ये ५० ओटाको कार्य सम्पन्न भएका छन्। कार्य सुरु भई काम भइरहेका र सुरु नै नभएका माइलस्टोनहरू क्रमशः ४४ र ३० ओटा छन् ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल टेलिभिजन र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लगायतका प्रतिनिधिले आ–आफ्नो कार्यालयको कार्य प्रगतिबारे प्रस्तुत गरेका थिए। गोरखापत्रबाट
प्रकाशित: २४ बैशाख २०७९, शनिबार