‘मेदी प्रहरी’ भएको भन्दै टिकटकमा भाइरल भएका युवक म्यादी प्रहरी नभएको खुलासा

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
‘मेदी प्रहरी’ भएको भन्दै टिकटकमा भाइरल भएका युवक म्यादी प्रहरी नभएको खुलासा

काठमाडौं ।

केही दिनयता म्यादी प्रहरीको पोशाकमा ‘तेरो दाई मेदि भैसक्या छ, केटा हो जे मन लाग्छ नडराई गर…’ भन्दै टिकटकमा भाइरल भएका युवक म्यादी प्रहरी नभएको खुलेको छ।

भाइरल भएको भिडियोमा उनको बोली नशालु पदार्थ खाएको जस्तो सुनिएको र म्यादी प्रहरीको पोशाकमा हिड्दै आफ्ना साथीहरुलाई आफू म्यादी प्रहरी भइसकेकोले जे मन लागेको गरे हुने र केही परे आफूले बचाउन सक्ने आशयका शब्दहरु बोलेका थिए।

उक्त टिकटक भिडियो टिकटक, यूट्युब तथा फेसबुकलगायतका सामाजिक सञ्जालहरुमा निकै भ्यू तथा शेयर भएको थियो।

ती व्यक्ति वास्तविक म्यादी प्रहरी नभएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४ का बासिन्दा १६ वर्षीय नवराज रेग्मी रहेका स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीले म्यादीको पोशाक लगाएर भिडियो बनाए पनि उनी आफैं म्यादी प्रहरी नभएको र भिडियोका लागि आफ्ना फूपूका छोराको म्यादी प्रहरीको पोशाक प्रयोग गरेको जनाएको छ।

पोशाकका बारेमा सोधपूछ गर्दा उनका फूपूका छोराले आफू घरमा नभएका बेला रेग्मीले प्रयोग गरेको जवाफ दिएका स्थानीय प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार