
काठमाडौं ।
अमेरिकाको एउटा निजी अनुसन्धान संस्थाले मेटाभर्समा पानी पिउँदा पानीले ओठमा छोएको महसुस गराउने डिभाइस निर्माण गरेका छन्।
अब मेटाभर्स डिभाइस यूजरले पानी पिएको बाहेक चुम्बन गरेको पनि यसै डिभाइसमार्फत् महसुस गर्नसक्ने ग्याजेट्स३६० ले उल्लेख गरेको छ।
मानिसको जिभ्रो निकै सम्वेदनशील हुने भएकाले अनुसन्धाताहरुले यही संवेदनशीलतालाई उपयोग गरेर प्रयोगकर्तालाई भर्चुअल दुनियाँमा स्वादसम्बन्धी अनुभव प्रदान गर्न कोशिस गरेको बुझिएको छ।
उनीहरुले उक्त डिभाइसले मेटाभर्सको अनुभव अझ जीवन्त बनाउने दावी गरेका छन्।
पिट्सबर्गको कार्नेजी मेलोन विश्वविद्यालयका इन्जिनीयरहरुले आफ्नो नयाँ अल्ट्रासाउण्डमा आधारित सिस्टमले यूजरहरुलाई भर्चुअल दुनियाँमा आफ्नो मुखमा भौतिक रुपमा नछोई पानी पिएको अनुभव गर्न सक्ने बताएका छन्।
यो प्रविधिले वायु-उत्पन्न अल्ट्रासोनिक तरंग प्रयोग गरेर जिभ्रो, दाँत तथा ओठका अनुभूति सिर्जना गर्ने र यो डिभाइस भीआर चश्माको तलपट्टि अड्याउन मिल्ने हलुका तथा सानो आकारको हुने पनि समाचारमा उल्लेख छ।
प्रकाशित: २१ बैशाख २०७९, बुधबार