काठमाडौं ।
गुगल पिक्सेल वाच सार्वजनिक हुने मिति नजिकिँदै गएको छ।
अल्फाबेटका सीईओ सुन्दर पिचाईले यसअघि नै पहिलो गुगल स्मार्टवाच कुनै न कुनै रूपमा गुगल आई/ओ २०२२ किनोटको भाग हुनसक्ने संकेत गरिसकेका छन्।
नयाँ अपडेटमा कम्पनीले स्मार्टवाचका बारेमा अझ बढी जानकारी दिँदै यूजरहरुलाई अझै ढुक्क हुन सक्ने केही फिचरहरुका बारेमा समेत अवगत गराएको छ।
आउँदै गरेको पिक्सेल वाचको गोलाकार डायल तथा स्ट्रिपका झलक यसअघि नै बाहिरिइसकेकामा अब भने कम्पनीले यसमा राखिएको ब्याट्रीको डिटेलका बारेमा जानकारी उपलब्ध गराएको छ।
यो डिभाइस फरक फरक प्रकारका कनेक्टिभिटी फिचरसहित बजारमा आउन सक्ने आकलन गरिएको छ।
हालको जानकारी अनुसार पिक्सेल वाचमा ३०० एमएएचको ब्याट्री हुनसक्ने सम्भावना रहेको छ भने यसमा सेल्युलर कनेक्टिभिटी अप्शन आउन सक्ने आकलन गरिएको छ।
हिजो आज स्मार्टवाचका लागि यी दुई फिचर आधारभूत रहेकाले पनि गुगलले यी फिचर उपलब्ध गराउन सक्ने सम्भावना रहेको हो।
३०० एमएएच क्षमता भएको ब्याट्री एक दिन वा त्योभन्दा बढी समयको ब्याकअपका लागि आदर्श मानिन्छ।
तर गुगल पिक्सेल वाचमा के कता फिचर उपलब्ध हुनेछन् त्यसका आधारमा ब्याट्री कति टिक्छ भन्ने आकलन गर्न सकिन्छ। यसबाहेक गुगलले ब्याट्रीको प्रभावकारिता र टिकाउपनको सुधारका लागि हार्डवेयर तथा सफ़्टवेयरलाई कसरी अप्टिमाइज तथा व्यवस्थापन गर्छ भन्ने पनि महत्वपूर्ण कडी हो।
केही समयअघि आएको सामसङ ग्यालेक्सी वाच ४ वेयर ओएस ३ भर्सनका साथ आएकामा प्रतिस्पर्धी कम्पनी गुगलले कस्तो सफटवेयर राखेर पिक्सेल वाच सार्वजनिक गर्छ भन्नेमा उपभोक्ताहरु उत्साहित भएको एबीपीलाइभले उल्लेख गरेको छ।
गुगलले अघिल्लो हप्ता आफ्नो ट्रेडमार्कका लागि आवेदन दिएपछि पिक्सेल वाच भन्ने नामको आधिकारिक इजाजत दिइएको बुझिएको छ।
प्रकाशित: २१ बैशाख २०७९, बुधबार