काठमाडौं ।
फोटो शेयरिङ एप स्न्यापच्याटले हालै उड्ने सेल्फी क्यामरा सार्वजनिक गरेको छ।
सानो आकारको पिक्सी नामको यो ड्रोनलाई कम्पनीले ‘फ्री-फ्लाइङ साइडकिक’ भनेर व्याख्या गरेको छ भने यसले सेल्फी स्टिकबिना नै मानिसहरुको सेल्फी खिच्न सक्ने बीबीसीले उल्लेख गरेको छ।
यो ग्याजेट हाल फ्रान्स र अमेरिकामा उपलब्ध रहेको बताइएको छ।
यी देशमा ड्रोनसम्बन्धी कानून बेलायतमा भन्दा केही लचिलो भएकाले उपलब्ध गराइएको बीबीसीले जनाएको छ।
यो डिभाइस स्न्यापच्याटले आफूलाई बिस्तारै हार्डवेयर र अग्मेन्टेड रियालिटीतर्फ अगाडि बढाउन खोज्दै गर्दा ल्याइएको हो।
पिक्सी आफैं चल्दछ भने यसले उड्दै गर्दा भिडियो खिचेर वायरलेस माध्यमबाटै एपमा सेभ गरिदिन्छ।
यसको उडान सकिएपछि यो सेल्फी ड्रोन यूजरको हत्केलामा अवतरण गर्ने समाचारमा उल्लेख छ।
स्न्यापच्याटका हालसम्म विश्वभरमा ३० करोड दैनिक एक्टिभ यूजर रहेका कम्पनीले जनाएको छ। यसबाहेक कम्पनीले २० देशका १३ देखि ३४ वर्ष उमेर समूहका ७५ प्रतिशत यूजरमा पहुँच पुर्याएको दावी समेत गरेको छ।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार