
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले वालेट र क्रेडिट कार्डको प्रयोगमा कडाई गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशनमा नै संसोधन गरेर वालेट र क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा कडाई गरेको हो।
राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार अब क्रेडिट कार्डको पैसा वालेटमा लोड गरेर त्यसलाई बैंक खातामा पुनः ट्रान्सफर गर्न तथा नगद झिक्न नपाईने भएको छ।
“क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्नेछ,” निर्देशनमा भनिएको छ।
यसको अर्थ अब क्रेडिट कार्डको रकम वालेटमा लोड गरेर क्युआर पेमेन्ट तथा मोबाईल बैंकिङमार्फत मात्र वस्तु तथा सेवा खरिद गर्न पाईनेछ।
सो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने व्यवस्था निर्देशनमार्फत राखिएको छ।
यस बाहेक नयाँ निर्देशनमा वालेटका ग्राहकहरुले विद्युतीयरुपमा केवाईसी सहित स्वघोषणा गर्नुपर्ने छ।
यस बाहेक विद्युतीय वालेटमा रकम लोड गर्दा एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्यरुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने भएको छ।
प्रकाशित: १९ बैशाख २०७९, सोमबार