दार्चुलामा तीन दिनदेखि सञ्चार सेवा अवरुद्ध

  • Technology Khabar | १९ बैशाख २०७९, सोमबार
दार्चुलामा तीन दिनदेखि सञ्चार सेवा अवरुद्ध

काठमाडौं ।

दार्चुलामा शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध बनेको छ। दार्चुलासहित सुदूर पश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्णरूपमा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ।

हावाहुरीले डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको अप्टिकल फाइबर चुँडिएपछि दार्चुला, बैतडी र बझाङ जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध भएको बताइएको छ। हावाहुरीले विद्युत्का पोल ढलेपछि फाइबर ब्रे क भएको नेपाल टेलिकमले जनाएको छ।

फाइबर ब्रेक हुँदा नेपाल टेलिकमले प्रदान गर्ने भ्वाइस कल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ। टेलिकमको अवरुद्ध सेवा सुचारु गर्नका प्राविधिक टोली खटिएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा बेला–बेला नेपाल टेलिकमको सेवा अवरुद्ध हुने गरेकोछ। सञ्चार सेवा अवरुद्ध भएपछि उपभोक्ताहरू सञ्चार विहीन बनेका छन् ।

निर्वाचनका बेला भएकोले सम्पर्क र समन्वयमा समेत समस्या र सञ्चार माध्यमहरूको कामकाजसमेत प्रभावित बनेको छ।

यसैबीच दार्चुलामा बिहीबारदेखि विद्युत् अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । विद्युत् लाइनमा मर्मतको काम चलिरहेको भएपनि सञ्चार सेवासमेत अवरुद्ध हुँदा ढिलाइ भइरहेको विद्युत् कार्यालयका प्राविधिक कर्मचारी सुरेश भट्टले बताए। तीन दिनदेखि बिजुली नआउँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको लेकमका स्थानीय प्रेम विष्टले जानकारी दिए । गोरखापत्रबाट

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...