
काठमाडौं ।
निर्वाचन आयोगले चुनावका बेला सामाजिक सञ्जाल फेसबुक, ट्विटर, टिकटकलगायतमा उम्मेदवारहरुका बारेमा भ्रामक दुष्प्रचार हुने गरेकोमा त्यस्ता गतिविधि नगर्न/नगराउन निर्देशन दिएको छ।
आइतबार पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आचार संहिता विपरीत सामाजिक सञ्जालको प्रयोग गरेको पाइएमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कारबाही गरिने चेतावनीसमेत दिए।
पत्रकार भेटघाटमा निर्वाचनसम्बन्धी मिथ्या समाचार, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिलाई परिभाषित गर्दै त्यस्ता कार्य नगर्न पनि आग्रह गरेको छ।
साथै कुनै पनि दल वा उम्मेदवारका बारेमा कुनै किसिमका नकारात्मक टिप्पणीयुक्त सामग्री प्रसारण नगर्न र राजनीतिक विज्ञापन हुन नदिन छिमेकी राष्ट्रहरुलाई पत्राचार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको पनि पौडेलले जानकारी दिए।
यसबाहेक उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत् प्रचार प्रसार गर्ने भए उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घण्टाभित्र सामाजिक सञ्जालको एकाउन्ट आयोगमा उपलब्ध गराउनु पर्ने उनले जानकारी दिए।
यस्तै आमसञ्चार माध्यममार्फत् दुष्प्रचार हुन नदिन प्रेस काउन्सिल र पत्रकार महासंघलाई अनुगमनका लागि निर्देशन दिइएको छ।
पौडेलले यस्ता दुष्प्रचारको नियमनका लागि फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क स्थापना र सहकार्यका लागि कम्पनीका कार्यालयहरूलाई सम्पर्क गरिने पनि बताए।
त्यस्तै मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति दिने सामग्रीहरूको प्रचार प्रसार रोक्न इन्टरनेट सेवा प्रदायक, भ्यालु एडेड सर्भिस सेवा प्रदायक र केबल टेलिभिजन नेटवर्कलाई निर्देशन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्रधिकरणलाई पत्राचार गरिएको आयोगले जनाएको छ।
प्रकाशित: १८ बैशाख २०७९, आईतवार