
काठमाडौं ।
दक्षिण कोरियाली ब्याट्री उत्पादकहरुले उत्तर अमेरिकामा आफ्ना उत्पादन बढाउने भएका छन्।
केही समययता दक्षिण कोरिया तथा चीनबीच बढिरहेको ईभी ब्याट्री निर्माणको प्रतिस्पर्धाका कारण दुवै देशले अन्य देशमा प्लान्ट स्थापना गर्ने क्रम पनि बढिरहेको डिजिटाइम्सले उल्लेख गरेको छ।
कोरियाको एलजी इनर्जी सोलुशन तथा नेदरल्याण्ड्सको आमस्टर्डाममा रहेको अटो निर्माता स्टेलान्टिसले गत मार्चमा दुवै मिलेर क्यानडामा ज्वाइन्ट भेन्चर स्थापना गरेको बताएका थिए।
उक्त कम्पनीले अत्याधुनिक प्रविधिको लिथियम-आयन ब्याट्री सेल तथा उत्तर अमेरिकामा स्टेलान्टिसको सवारी उत्पादनका लागि आवश्यक अन्य पार्टपुर्जा पनि बनाउने स्टेलान्टिसले जनाएको छ।
यो संस्थाले क्यानडाको ओन्टारियोमा निर्माण फ्याक्ट्री स्थापनालगायतका लागस ५ अर्ब डलर लगानी गर्नेछ। उक्त फ्याक्ट्रीबाट सन् २०२४ देखि वार्षिक४५ गिगावाट आवर क्षमताको ब्याट्री सेल निर्माण गरिने डिजिटाइम्स लेख्दछ।
एलजी इनर्जी सोलुशनले पनि अमेरिकाको एरिजोना राज्यमा ब्याट्री प्लान्ट स्थापना गर्न १.७ ट्रिलिया कोरियन वोन लगानी गर्नेछ। कम्पनीले जनरल मोटर्ससँग सहकार्य गरी मिचिगनमा पनि प्लान्ट स्थापनाका लागि २.६ अर्ब डलर लगानी गर्ने बुझिएको छ।
यस्तै एसके अनले अमेरिकाको फोर्ड मोटरसँग सहकार्य गरी टर्कीमा ३०गिगावाट आवर क्षमताको ब्याट्री उत्पादन गर्ने र यो सेवा अमेरिका र हंगेरीमा पनि विस्तार गर्ने बताएको डिजिटाइम्सले उल्लेख गरेको छ।
प्रकाशित: १८ बैशाख २०७९, आईतवार