चन्द्रयान-३ मिशनको झलक देखायो भारतीय अन्तरिक्ष अनुसन्धान एजेन्सीले, अगस्टमा प्रक्षेपण हुनसक्ने

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
चन्द्रयान-३ मिशनको झलक देखायो भारतीय अन्तरिक्ष अनुसन्धान एजेन्सीले, अगस्टमा प्रक्षेपण हुनसक्ने

काठमाडौं ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा जाने देशको तेस्रो अन्तरिक्ष यान चन्द्रयान-३ को पहिलो झलक देखाएको छ। यस वर्षको अगस्टमा यसको प्रक्षेपण अपेक्षित छ र अहिले एसेम्बलको काम भइरहेको छ।

इसरोले वृत्तचित्रमार्फत आगामी नयाँ मिसन देखाएको छ। ‘स्पेस अन व्हील्स’ शीर्षकको वृत्तचित्र इसरोको वेबसाइटमा पोस्ट गरिएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

भारतले ‘स्वतन्त्रताको अमृत महोत्सव’ मनाउँदै छ सोही उत्सवको एक भागको रूपमा इसरोले आफ्ना उपलब्धिहरू प्रदर्शन गरेको हो। हालै, इसरो अध्यक्ष एस सोमनाथले संगठन तेस्रो चन्द्र मिशनको लागि प्रोपल्सन प्रणालीको परीक्षण गरिरहेको बताएका थिए।

चन्द्रयान–३ सन् २०२० को अन्त्यमा प्रक्षेपण गर्ने भनिएपनि कोरोना महामारीका कारण यो मिसनमा ढिलाइ भएको थियो। यो एक ल्यान्डर-विशेष मिसन हो, जसमा कुनै अर्बिटर हुनेछैन्। यसअघिको भारतीय चन्द्रयान-२ को पहिलो अर्बिटर ठीकसँग काम गरिरहेको हुँदा यसमा अर्बिटर नहुने बताईएको छ। भारतका लागि चन्द्रयान-३ मिशन महत्त्वपूर्ण छ किनभने यो चन्द्रमामा अवतरण गर्ने इसरोको दोस्रो प्रयास हुनेछ र अन्तरग्रहीय मिसनहरूको मार्गमा सुधार हुनेछ।

इसरोले २२ जुलाई २०१९ मा चन्द्रयान-२ मिशन प्रक्षेपण गरेको थियो, तर यो धेरै सफल हुन सकेन। ल्यान्डर दुर्घटना भएको कारण यस्तो भएको थियो । तर, चन्द्रयान–२ को अर्बिटरले २० अगस्ट २०१९ देखि चन्द्रमाको सतहबाट करिब १०० किलोमिटरको उचाइमा चन्द्रमाको परिक्रमा गरिरहेको छ र चन्द्रमाको सतहको तस्विर लिइरहेको छ। उनले चन्द्रमासँग सम्बन्धित डाटा पनि इसरोलाई पठाइरहेको छ। गत वर्ष यसले चन्द्रमाको ९ हजारभन्दा बढी पटक परिक्रमा पूरा गरेको थियो। इसरोले यो अर्बिटरबाट आगामी केही वर्षसम्म राम्रो डाटा प्राप्त गर्न सक्ने आशा गरेको छ।

तर, इसरोले आफ्नो वृत्तचित्रमा चन्द्रयान–३ को ल्यान्डर देखाएको छ। यो चन्द्रमामा अवतरण गर्ने भारतको दोस्रो प्रयास हुनेछ। इसरोले डकुमेन्ट्रिमा भारतको पहिलो मानव अन्तरिक्ष मिशन गगनयान, भेनस अर्बिटर मिशन र भारत-अमेरिका संयुक्त परियोजना निसार मिशनमा जारी काम पनि देखाएको छ। इसरोले सन् २०२० मा एउटै रकेटबाट १०४ स्याटेलाइट प्रक्षेपण गरेर कीर्तिमान कायम गरेको थियो ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार