
काठमाडौं ।
सामाजिक सञ्जालका कारण निर्वाचनको प्रचार शैली फेरिएको छ। अघिल्लो निर्वाचनसम्म झन्डा, फ्लेक्स प्रिन्ट, पोस्टर, भित्ते लेखन आदि प्रचार सामग्रीको बजार राम्रै थियो। निर्वाचनका बेला प्रचार सामग्री तयार गरिदिने व्यवसायीलाई भ्याइनभ्याई हुन्थ्यो । स्थानीय तहको निर्वाचन हुन अब १५ दिन बाँकी छैन तर व्यवसायी यतिबेला खासै व्यस्त छैनन् । प्रचार सामग्री तयार गर्न अहिलेपनि सबैभन्दा बढी बागबजार क्षेत्र प्रख्यात छ ।
व्यवसायीका अनुसार सामाजिक सञ्जालमा राख्नका लागि डिजिटल डिजाइन बनाउने अर्डर बढेको छ भने प्रचारका लागि प्रयोग हुने छपाइसम्बन्धी कार्य स्वात्तै घटेको छ ।
बागबजारको न्यु एभरेस्ट आर्टका संस्थापक विजयकुमार कार्कीले निर्वाचन प्रचार सामग्री बनाउन विगतका निर्वाचनमा निकै व्यस्त रहनुपर्थ्यो भन्दै हाल बजार सुस्त भएको गुनासो गरे। उनले पञ्चायतकालमा बागबजार लगायत सहरका पर्खालहरू ठूला पोस्टरले र ङ्गिएको स्मरण गर्दै भने, “अहिले निर्वाचन आयोगले आचारसंहिता लागू गरेर प्रचार सामग्री राख्न नपाइने भनेपछि व्यवसायको आम्दानीमा अवरोध सिर्जना भएको छ।”
विगत ३५ वर्षदेखि बागबजारमा छपाइ व्यवसाय गरिरहेका कार्कीले प्रचार सामग्री हातैले लेखिने गरेको र यसले गर्दा निर्वाचनका बेला थुप्रै कलाकारले काम पाउने अवस्था रहन्थ्यो भन्दै हाल कलाकार पनि विदेश पलायन भएको बताए ।
डिजिटल प्रविधिमा काम छिटो हुने भनिए पनि काम नपाएपछि यसबाट व्यवसायीले फाइदा लिन पाएका छैनन् । बागबजारका व्यवसायीले काठमाडौँ बाहेक खोटाङ, मनाङ, मुगु, रसुवालगायतका क्षेत्रका प्रचार सामग्रीको अर्डर आएको बताउँछन् ।
काठमाडौँ महानगर पालिका–५ का लागि निर्वाचन प्रचार सामग्री बनाउन बागबजार पुगेका शिवराज राईले विगतमा जस्तो प्रचारका लागि झन्डा नै बोक्नुपर्ने भन्ने पनि नरहेको बताउँदै आफूले प्रचारका लागि टोपीको अर्डरदिन आएको बताए ।
सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिकाका लागि घोषणापत्र छपाउन आएका प्रकाश रसाइलीले उम्मेदवारको टुङ्गो लगाउन ढिला भएकाले अहिले हतार हतार घोषणापत्र छपाउन काठमाडौँ आउनुपरेको बताए ।
नवज्योति प्रिन्टिङ प्रेसका सञ्चालक प्रकाश सुवेदीको अनुभवमा पनि यस पटकको निर्वाचनका बेला प्रचार सामग्रीको अर्डर कम आएको तर सामाजिक सञ्जालमा राख्नका लागि डिजिटल डिजाइन र नमुना मतपत्र तयार गर्ने काम पर्याप्त आएको छ। उनले नमुना मतपत्र र घोषणापत्रको भरमा काम चलिरहेको र प्रचार सामग्रीका काम भने नगन्य नै रहेको बताए।
त्यसै गरी आरएन प्रिन्टिङ पोइन्टका सञ्चालक रविन शाहीले नेपाल कम्युनिस्ट पार्टी (एमाले ) रनेकपा माओवादीको झन्डाको अर्डर आएको र दुई दिनयता नेपाली काँग्रेसको झन्डा बनाउने अर्डर आएको बताए । उनले यस पटक पार्टीहरू गठबन्धनमा व्यस्त रहनु परेकाले त्यसको टुङ्गो नलाग्दा प्रचार सामग्री छाप्न दिन ढिला भएको हुनसक्ने बताए। गोरखापत्रबाट
प्रकाशित: १७ बैशाख २०७९, शनिबार