
काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गणनास्थलमा अनिवार्य रूपमा सीसी क्यामराको प्रबन्ध गर्न लगाएको छ।
मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।
सो प्रयोजनका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परि पत्र पनि गरिसकेको छ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नै पर्ने/नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनैगडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको बताए।
गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनः मतदानसमेत भएको थियो । निर्वाचनका लागि कुल १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ। गोरखापत्रबाट
प्रकाशित: १७ बैशाख २०७९, शनिबार