
काठमाडौं ।
अनलाइन व्यापार खस्किएको तथा लगानी बढेका कारण अमेजनले सन् २०१५ यता पहिलो पटक घाटा ब्यहोरेको छ।
ई-कमर्स जायन्ट अमेजनका अनुसार कोरोना महामारी कालमा आकाशिएको अनलाइन व्यापार बिस्तलै घट्दै गएर पहिलो त्रैमासमा ३ प्रतिशतले घटेको थियो।
तर कम्पनीका क्लाउड कम्प्युटिङ तथा विज्ञापनजस्ता अन्य क्षेत्रको व्यापार भने मजबुत नै रहेको बीबीसीले जनाएको छ।
यो कम्पनी पनि विश्वका अन्य ठूला प्रविधि कम्पनीहरु झैं यूक्रेन युद्धका कारण बढिरहेको मूल्यको समस्या भोगिरहेको देखिएको छ।
अमेजनले यो त्रैमासमा समग्रमा ३ अर्ब ८० करोड डलर घाटा ब्यहोरेको र त्यसमध्ये सबैभन्दा धेरै विद्युतीय कार निर्माता कम्पनी रिभियनमा गरेको लगानीको रहेको बीबीसीले उल्लेख गरेको छ।
कम्पनीले आउँदा महिनाहरुमा ३ प्रतिशतको मुनाफा प्रक्षेपण गरेको छ जुन केही समययताको दुई अंकको मुनाफा वा कोरोना महामारीभन्दा अगाडिको अवस्थाभन्दा पनि निकै खस्किएको आँकडा हो।
‘कोरोना महामारी तथा त्यसपछिको रुस-यूक्रेन युद्धले अस्वाभाविक बढोत्तरी र चुनौतीहरु ल्याए’, अमेजनका सीईओ एन्डी जास्सीले भने।
उनले कम्पनीले बढिरहेको मूल्य तथा मुद्रास्फीति र आपूर्ति श्रृङ्खलाको दबाब पनि झेलिरहेको बताए।
प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार