
काठमाडौं ।

-रोजाकिरण वासुकला
विश्वमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलाहरुको न्यून उपस्थिति भैरहेको तीतो यथार्थलाई स्वीकार्दै यस क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य रुपमा वृद्धि गर्न विश्वव्यापी पहलको रुपमा सन् २०१०, सन् २०१४ तथा सन् २०१८ मा सम्पन्न आईटीयू प्लेनिपोटेन्सियरी कन्फ्रेन्स (ITU Plenipotentiary Conference) हरुमा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ International Telecommunication Union-ITU का सदस्य राष्ट्रहरुले गरेको प्रतिबद्धतास्वरुप सन् २०११ देखि विश्वव्यापी रुपमा हरेक वर्ष अप्रिल महिनाको चौथो बिहिबार अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवस International Girls in ICT Day मनाउन थालिएको हो।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलाहरुलाई जागरुक बनाउन विभिन्न कार्यक्रमहरुका साथ अभियानको रुपमा सञ्चालन गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सबै सदस्य राष्ट्रहरुलाई आह्नान गर्दै आएको छ।
नेपालमा सन् २०१२ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (World Telecommunication and Information Society Day) नेपाल दूरसञ्चार प्राधिकरणले Women and Girls in ICT का विषयमा सम्पन्न कार्यशाला गोष्ठी पश्चात औपचारिक रुपमा सन् २०१३ देखि International Girls in ICT Day मनाउन थालिएको हो।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघले गरेको आह्नान अनुरुप नेपाल दूरसञ्चार प्राधिकरणले यस दिवसको परिप्रेक्ष्यमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी सन् २०१३ देखि २०१९ सम्म कार्यशाला गोष्ठी, सेमिनार, तालिम, प्रकाशन, छात्राहरु बीच प्रतियोगिता, ह्याकाथोन, प्रभातफेरी, सूचना तथा सञ्चार प्रविधिमा उत्कृष्ट योगदान पुर्याउने महिलाहरुको सम्मान, सूचना तथा सञ्चार प्रविधिमा महिलाहरुलाई प्रेरित गर्न उत्कृष्ट क्षमता प्रदान गर्ने संघ संस्थाहरुको सम्मान, आदिजस्ता कार्यक्रमहरु सञ्चालन गरी महिलाहरुलाई यस क्षेत्रमा सक्रिय सहभागिताको लागि अभियान सञ्चालन भएको थियो।
कोभिड-१९ ले विश्वव्यापी असर गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आफ्ना सदस्य राष्ट्रहरुलाई सन् २०२० देखि भर्चुअल रुपमा समेत Girls in ICT सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न आह्वान गरेको थियो। प्राधिकरणले सञ्चालन गरेका Girls in ICT Day सम्बन्धी कार्यक्रमहरुको अनुसरण गर्दै विभिन्न संघ संस्थाहरुले भौतिक तथा भर्चुअल कार्यक्रमहरु नेपालका विभिन्न स्थानमा सञ्चालन भैरहेका छन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघले शुरुवाती अवस्थामा “Expand Horizons, Change Attitudes” भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधिमा महिलाहरुको सहभागिताको लागि कार्यक्रमहरु सञ्चालन गर्न आह्वान गर्दै आएकोमा यस दिवसमा मात्रै अभियानको रुपमा सिमित नभई हरेक दिन नै यस्ता कार्यक्रमहरु सञ्चालन गर्नका लागि सन् २०१८ को International Girls in ICT Day देखि “एभ्रिडे इज गर्ल्स इन आईसीटी डे” भन्ने नाराका साथ विश्वव्यापी अभियान सञ्चालन हुँदै आएको छ।
महिला तथा किशोरीहरु इन्टरनेटको जोखिमको कारण इन्टरनेटको पहुँचमा कमी भैरहेको महसुस भई यस वर्ष अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सुरक्षित इन्टरनेट पहुँचमा महिलाको लागि “Access and Safety” को अवधारणामा कार्यक्रमहरु सञ्चालन गर्न आह्वान भई विश्वव्यापी कार्यक्रमहरु सञ्चालन गर्न भैरहेको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको सन् २०२१ को विवरण अनुसार विश्वमा ५७ प्रतिशत महिलाहरु मात्रै इन्टरनेटको पहुँचमा छन् भने विज्ञान तथा प्रविधिको क्षेत्रमा ३० प्रतिशत मात्रै महिलाहरु छन्।
महिलाहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन तथा सुरक्षित इन्टरनेटको अनुभूति गराउन सके मात्रै डिजिटल क्षमता अभिवृद्धि गरी विज्ञान, प्रविधि, गणित तथा इन्जिनियरिङ विषयमा आधारित सूचना तथा सञ्चार प्रविधिमैत्री पेशामा महिलाहरुको उल्लेख्य वृद्धि गर्न सकिनेछ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्र हरेक अन्य क्षेत्रको सहजीकरणमा हातेमालो बढ्दै अघि बढ्न सकिने क्षेत्र भएको र महिलाहरुलाई यस क्षेत्रमा सक्रिय सहभागिता गराएमा संयुक्त राष्ट्र संघले अगाडि सारेको लैंगिक समानता, गरिबी निवारण तथा भोकमरी नियन्त्रण जस्ता दिगो विकासका लक्ष्य पूर्तिका सहयोग पुग्ने देखिन्छ।
ब्रोडब्याण्ड नीति, २०७१ को बुँदा ११.३.११ मा लैंगिक विभेदमुक्त सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने र सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ मा लैंगिक असमानता कम गर्नुका साथै लैंगिक हिंसा रोकथाम गर्ने र लैंगिक हिंसा सम्बन्धी उजुरी प्रकरिया सहज बनाउन तथा त्यस प्रकारका घटनाहरु सम्बोधनमा समन्वय प्रबर्द्वन गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बढाइने, ग्रामीण क्षेत्रमा विभिन्न सरकारी एवं गैर सरकारी संस्थाहरु मार्फत युवा तथा महिलाहरुलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिने, सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत युवा तथा महिलाहरुलाई राष्ट्रिय नीति निर्माण, योजना तर्जुमा लगायतका प्रक्रियाहरुमा सहभागी गराइने र शुरुवाती (Start Up) लगायत इन्क्युबेटर परियोजना (Incubator Project) हरुको प्रबर्द्धन मार्फत युवा तथा महिलाहरुमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यमशीलता विकास गर्न नीतिगत व्यवस्था गरिने उल्लेख भए बमोजिम सरकारको ठोस नीति तथा कार्यक्रममा उपरोक्त व्यवस्था झल्किने सिर्जनात्मक कार्यक्रमहरु आयोजना गर्न जरुरी देखिएको छ।
यसो भएमा मात्रै नेपाल सरकारले अवलम्बन गरेको डिजिटल नेपाल निर्माणमा महिलाहरुले समान सहभागिता जनाई पूर्ण योगदान पुर्याउन सक्ने अवस्था रहन्छ।
सूचना तथा सञ्चार प्रविधिमा महिलाहरुको उपस्थितिलाई मापन गर्न सरकारी तथ्यांक निर्माण गर्नु पर्ने आवश्यकता समेत भैसकेको छ।
*लेखिका नेपाल दूरसञ्चार प्राधिकरणकी उप-निर्देशक हुन्
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार