
काठमाडौं ।
-साजन सुवेदी
नेपालमा माघ मसान्तसम्म फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या ८५ लाख ५१ हजार ७६४ मा झरेको छ।
यो सङ्ख्या एक महिना अघि अर्थात् पुष मसान्तसम्म ९५ लाख ५७ हजार २५७ रहेको थियो।
यो सङ्ख्या वायर्ड र वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांकमा यो आँकडा उल्लेख गरिएको छ।
वार्यडतर्फ ८४, ३५, ७२१
यो समग्र संख्यामा फिक्स्ड ब्रोडब्यान्डको वायर्डतर्फका एडीएसएल सेवा प्रयोगकर्ताहरुको संख्या ५ लाख २७ हजार २८७, केबल/एफटीटीएचका ७९ लाख ७ हजार २७५ तथा इन्टरनेट लिज लाइनका १ हजार १८१ रहेका छन्।
वायरलेसतर्फ १, १६, ०४३
यस्तै वायरलेसतर्फ रेडियो वाइफाइका ८८ हजार ८६२ तथा वाइम्याक्सका २७ हजार १८१ पनि समावेश छन्।
सार्वजनिक भएको तथ्याङ्क अनुसार एडीएसएल तथा वाइम्याक्स दुवैका समग्र प्रयोगकर्ता नेपाल टेलिकमका रहेका छन्।
यस्तै केबल/एफटीटीएचतर्फको ७९ लाख ०७ हजार २७५ मा भने नेपाल टेलिकमका ७ लाख ३५ हजार ६०७ तथा इन्टरनेट सेवा प्रदायक आईएसपीहरुका ७१ लाख ७१ हजार ६७० रहेका छन्।
फिक्स्ड ब्रोडब्यान्डको समग्र वायरलेसतर्फ रेडियो वाइफाइको ८८ हजार ८६२ सबै आईएसपीहरुका तथा नेपाल टेलिकमको वाईम्याक्सका प्रयोगकर्ता २७ हजार १८१ रहेका तथ्याङ्कमा उल्लेख छ।
एफटीटीएचतर्फ एक महिनामै घटे ८ लाखभन्दा धेरै
तथ्याङ्क अनुसार फिक्स्ड वायर्डतर्फ केबल/एफटीटीएचका ग्राहक माघ महिनामा ८ लाख २५ हजार ७५८ थपिएका छन्।
केबल/एफटीटीएचका ग्राहक पुष मसान्तसम्म ८७ लाख ३३ हजार ३३ रहेकामा माघ मसान्तसम्म आइपुग्दा ७९ लाख ०७ हजार २७५ मा झरेका छन्।
एडीएसएलका ग्राहक पनि घटे
पुष महिनामा एडीएसएलका समग्र ग्राहक ६ लाख १२ हजार ८६७ रहेकामा माघ मसान्तसम्म आइपुग्दा घटेर ५ लाख २७ हजार २८७मा झरेका छन्।
वाईम्याक्स पनि उल्लेख्य घटे
पुष मसान्तसम्म ९० हजार ६०३ ग्राहक सङ्ख्या रहेका नेपाल टेलिकमको वाईम्याक्स सेवा प्रयोगकर्ताको सङ्ख्या माघ मसान्तसम्म आइपुग्दा ६३ हजार ४२२ ले घटेर २७ हजार १८१ मा झरेको छ।
रेडियो वाइफाइका पनि घटे
फिक्स्ड ब्रोडब्याण्ड अन्तर्गत इन्टरनेट सेवा प्रदायकहरुले दिँदै आएका रेडियो वाइफाइ सेवाका ग्राहक अघिल्लो महिनाको उल्लेख्य घटेका छन्।
यो सेवा लिनेको सङ्ख्या पुष मसान्तसम्म १ लाख १९ हजार ६४३ रहेकामा माघ मसान्तसम्म आइपुग्दा ३० हजार ७३१ ले घटेर ८८ हजार ८६२ मा आइपुगेको छ।
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार