
काठमाडौं ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ ओटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ। बुधबार अनुगमन बारेको कार्यप्रगति विवरण समेटिएको विज्ञप्ती जारी गर्दै काउन्सिलले सो जानकारी गराएको हो।
काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार ओटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशाकीय अधिकृत रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ। साथै सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता परिपालनामा गम्भीर बन्न काउन्सिलले आग्रह पनि गरेको छ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएको थियो। निर्वाचन आचारसंहिता लागू भएपश्चात् आयोगसँगको सम्झौताअनुसार काउन्सिलले देशभरका सञ्चार माध्यमहरूको अनुगमन गरिरहेको छ। सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्काल कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई समेत काउन्सिलले गराउँँदैआएको छ।
आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ ओटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको भन्दै प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ।
सोहीअनुसार २ ओटा सञ्चारगृहले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएको काउन्सिलले जनाएको छ। यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ ओटालाई आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिए।
दुई ओटा अनलाइनबाट निर्देशनपश्चात् पनि आचारसंहिता प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएपछि सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै ४ ओटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको बोहराले बताए।
आगामी दिनमा दल तथा उम्मेदवारबारेमा प्रचार प्रसारमा तीव्रता आउने हुँदा निर्वाचन सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुर्याउन सञ्चार माध्यमलाई काउन्सिलले आग्रह गरेको छ। गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन काउन्सिलले सबैमा आग्रह गरेको छ ।
प्रकाशित: १४ बैशाख २०७९, बुधबार