
काठमाडौं ।
चीनमा गाईको गोबरबाट व्यावसायिक रुपमा बिजुली उत्पादन शुरु भएको छ।
यसै उद्देश्यका लागि चीनमा हालै सबैभन्दा ठूलो एकल जैविक आरएनजी अर्थात् नवीकरणीय प्राकृतिक ग्याँस उत्सर्जन परियोजना स्थापना गरिएको छ।
चाइना इनर्जी कन्स्ट्रक्शनले स्थापना गरेको आन्हुई वुहे इनर्जी आरएनजी परियोजना भर्खरै सञ्चालनमा ल्याइएको छ।
यो परियोजनाको आकार निकै ठूलो रहेकाले साझेदारीमा सञ्चालन हुन लागेको एकल जैविक नवीकरणीय प्राकृतिक ग्यास परियोजना भएको गिजचाइनाले जनाएको छ।
कम्पनीका अधिकारीहरुका अनुसार उक्त परियोजनाको कुल क्षमता ९ मेगावाटको रहेको र यसको बृहत् उर्जा खपत दर ८५ प्रतिशत हुने अपेक्षा गरिएको छ।
परियोजनामा यस पटक गाईको गोबर तथा पराललाई कच्चा पदार्थका रुपमा प्रयोग गरिएको छ। केही प्रशोधनमार्फत् यी कच्चा पदार्थ मिथेन ग्याँसमा परिवर्तन हुन्छन्।
त्यसपछि उक्त ग्यासलाई इन्टर्नल कम्बुशन जेनेरेटरमा राखेर बिजुली उत्पादन गर्न सकिने छ।
चाइना इलेक्ट्रिसिटी काउन्सिलका अनुसार चीनको हाइ-टेक तथा उपकरण उत्पादन उद्योगले धेरै बिजुली खपत गर्दछ। केही नयाँ निर्माण कम्पनीले पनि बढी मात्रामा बिजुली खपत गर्दछन्।
बिजुली बढी खपत गर्ने केही उद्योगहरुमा मेडिकल उपकरण, विद्युतीय कार तथा वायु उर्जाको प्राइम मुभर उपकरण निर्माणसम्बन्धी कम्पनीहरु रहेका गिगचाइनाले जनाएको छ।
उर्जा उत्पादन तथा आपूर्तिका हिसाबले हरित तथा कम-कार्बन उत्सर्जन निकै महत्वपूर्ण हुन जान्छ। सन् २०२१ सम्मको समग्र इन्स्टलेशन क्षमताका हिसाबले पूर्ण क्षमताका गैर जीवाष्म उर्जा उत्पादन १.१२ अर्ब किलोवाट हुने समाचारमा उल्लेख छ।
प्रकाशित: १४ बैशाख २०७९, बुधबार