Technology Khabar १४ बैशाख २०७९, बुधबार
काठमाडौं ।
हुलाक कार्यालयलाई अनलाइन व्यापार गर्ने माध्यमकारूपमा प्रयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ।
मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित बजेट छलफलका क्रममा मन्त्रालयले त्यस्ता कार्यालयहरूलाई ‘इकमर्स प्लेटफर्म’का रूपमा उपयोग गर्ने प्रस्ताव राखेको हो। त्यस्तै, मन्त्रालयले दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने प्रस्ताव पनि राखेको छ।
मन्त्रालयको प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्माले पुराना जनशक्तिलाई अवकाश दिएर नयाँ जनशक्तिमार्फत भए पनि हुलाक सेवालाई नयाँ ढङ्गबाट सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। हुलाक सेवालाई आधुनिकीकरण गर्नेगरी कार्ययोजना ल्याउन र आगामी आर्थिक वर्षको बजेटमै समावेश गर्न पनि उनले आग्रह गरे।
उनले भने, “हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ। निजी क्षेत्रको प्रगति हेरेर हामीचाहिँ पुरानै शैलीमा बसेर हुँदैन।”
त्यस्तै उनले उपयुक्त साझेदार खोजेर दोलखामा फिल्म सिटी बनाउने कार्यक्रम र बजेट ल्याउन पनि सुझाव दिए।
छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आवको बजेटमा ठोस विषय वस्तुमात्रै समेटेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। “यहाँ श्रीलङ्काको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ। यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आउनुपर्छ,” उनले भने।
मन्त्रालयका तर्फबाट प्रस्तुतीकरण गर्दै सचिव वैकुण्ठ अर्यालले सबै सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य रूपले कट्टा गर्ने र यसरी कट्टा गरेको रकम विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था लागू गर्न प्रस्ताव राखे। “यस्तो व्यवस्थाले लोककल्याणकारी विज्ञापनको बजेट विनियोजनमा चाप पर्दैन,” उनले भने।
त्यस्तै, उनले हुलाक सेवा परम्परागत शैलीले चलेको भन्दै सुधारको खाँचो रहेको बताएका थिए। गोरखापत्रबाट
प्रकाशित: १४ बैशाख २०७९, बुधबार