क्यान इन्फोटेक सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता

Technology Khabar १३ बैशाख २०७९, मंगलवार

काठमाडौं ।

यहि बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको क्यान इन्फोटेक २०२२ सम्पन्न भएको छ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड-१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै विगतमा २ पटकसम्म स्थगित भएको थियो। शुरुदेखि नै पुस/माघ/फाल्गुनको जाडो महिनामा हुने प्रदर्शनी यस पटक पहिलो पटक बैशाख महिनामा सम्पन्न भएको हो ।

इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरुले छूट तथा अफरहरूलाई आगामी १-२ महिनासम्म कायम राख्ने क्यान महासंघलाई जानकारी गराएका छन्।

२ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा करिव सवा २ लाखजना अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरेका छन्।

एसइइको परिक्षा, त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा भैरहेको परिक्षा, कजेलहरुको पूर्व बोर्ड परीक्षा, स्थानिय चुनाव तथा यस सम्बन्धि निर्वाचन आयोगको आचार संहिता, पछिल्लो दुई दिन स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय सभागृहमा मनोनयन दर्ता गर्ने कार्यक्रम, अघिल्लो २ दिन वर्षाको अवरोधका कारण अवलोकनकर्ताको संख्यामा कमी देखिए पनि यसलाई स्वाभाविक लिनुपर्ने क्यान महासंघको धारणा रहेको छ।

क्यान इन्फोटेकको स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिननै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन। इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो।

क्यान इन्फोटेक २०२२ को उत्कृष्ट स्टलको पुरस्कार वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बिआइसी टेक्नोलोजी प्रालिले जितेका छन्। उत्कृष्ट स्टलको पुरस्कार मूल्य पचास हजार रुपैयाँ रहेको छ भने उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सुचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गर्ने क्यान महासंघको योजना रहेको छ।

क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका थिए जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया